एक महिनादेखि दैलेख प्रजिअविहीन : तलब र राहत वितरण रोकियो, सेवाग्राही मारमा
दैलेख : दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विहीन भएको झन्डै एक महिना पुगेको छ।
दशैं सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासनमा नेतृत्व नहुँदा शान्ति सुरक्षा, दैनिक प्रशासनिक कार्यसम्पादन, कर्मचारीको तलब तथा पीडितहरूलाई राहत र क्षतिपूर्ति वितरणलगायतका काम प्रभावित भएका छन्।
तत्कालीन प्रजिअ आनन्द सारुको सरुवा भएपछि नयाँ प्रजिअ नपठाउँदा हाल जिल्ला प्रशासन कार्यालय सहायक प्रजिअको भरमा चलिरहेको छ। तर, प्रजिअ नहुँदा आर्थिक अधिकार तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले बताए।
प्रजिअको अनुपस्थितिका कारण प्रशासनभित्रकै २२ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ।
यस्तै, विभिन्न कानुनी प्रक्रियाबापत दाखिला भएको धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति र दैवी प्रकोप पीडितहरूले पाउने राहत रकम भुक्तानीसमेत पूर्ण रूपमा रोकिएको प्रशासनका लेखापाल रूपाखेतीले जानकारी दिए।
कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी लोकमार्ग जोडिएको दैलेख सुरक्षाका दृष्टिले समेत संवेदनशील मानिन्छ। चाडपर्वको समयमा हुने बाक्लो आवागमन र सुरक्षा व्यवस्थापनका लागि प्रशासनिक नेतृत्व तथा समन्वय अत्यावश्यक भए पनि प्रमुख नै नहुँदा शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ।
जिल्लामा प्रशासनिक शून्यता बढ्दै गएपछि उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले नागरिकका समस्यालाई ध्यानमा राखी सरकारसँग तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउन माग गरेका छन्।
कात्तिक २०, २०८३ शुक्रबार ११:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।