बजेटभन्दा जनताको सुरक्षा पहिलो प्राथमिकता : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रलाई जोगाउन तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
नारायणी नदी किनारको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले नागरिकको जीउज्यान, ऐतिहासिक बजारको अस्तित्व र व्यवसायीको सम्पत्ति रक्षा गर्नु अहिलेको मुख्य दायित्व भएको उल्लेख गरे।
बजार क्षेत्रको जोखिम न्यूनीकरणका लागि अध्ययन टोलीले काम अघि बढाइसकेको जानकारी दिँदै उनले भने, “नागरिक जोगाउन बजेट दोस्रो कुरा हो, जनतालाई कसरी सुरक्षित राख्ने भन्ने नै पहिलो प्राथमिकता हो। प्राविधिक अध्ययनका क्रममा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने देखिएमा पनि सबै सरोकारवाला एकमत भएर अघि बढ्नुपर्छ।”
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई मात्र विशेष प्राथमिकता दिनुपर्छ भन्ने मान्यता आफूमा नरहेको स्पष्ट पार्दै उनले देशका बाढीपहिरो प्रभावित सबै भूगोललाई राज्यले समान दृष्टिले हेर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका बाढी प्रभावित क्षेत्रको समस्या पनि उत्तिकै गम्भीर रहेको उनको भनाइ थियो।
कटान नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने कामका विषयमा अध्ययन प्रतिवेदन करिब तयार भइसकेको र त्यसका लागि आवश्यक स्रोत जुटाउन आफूले समन्वय गर्ने प्रतिबद्धता लामिछानेले व्यक्त गरे।
छलफलका क्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्या समाधानका लागि सभापति लामिछानेले सुरुवाती चरणदेखि नै अग्रसरता देखाएको उल्लेख गर्दै समस्याको दिगो तथा दीर्घकालीन समाधानका निम्ति पहल गरिदिन आग्रह गरेका थिए।
कात्तिक २०, २०८३ शुक्रबार १०:५२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।