विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस् : मन्त्री लम्साल

विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस् : मन्त्री लम्साल

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रमा देखिएका नीतिगत र कानुनी अड्चन फुकाउन व्यापक सुधारको तयारी गरेको बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री लम्सालले नेपालमा लगानीमैत्री वातावरण बनेकाले विदेशी लगानीकर्ता तथा दातृ निकायहरूलाई ढुक्क भएर लगानी गर्न आह्वान गरे।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री लम्सालले विकासका बाधक मानिएका कानुनी उल्झनहरू अन्त्य गर्ने गरी काम भइरहेको स्पष्ट पारे। 

“हामीले पूर्वाधार निर्माणको बाधकका रुपमा चित्रित गरिएको कानुनी उल्झनहरुको अन्त्य गर्ने गरी काम गरिरहेका छौँ,” उनले भने, “मुलुकमा लगानीमैत्री वातावरण बनेकाले पनि विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्दछु।”

मन्त्री लम्सालले नेपाल पूर्वाधार सम्मेलनमा सरकारले कानुनी र नीतिगत अड्चनमा गरेका सुधारका कार्य पनि सोकेसका रुपमा प्रस्तुत गर्ने योजना रहेको बताए। यसैगरी, मन्त्री लम्सालले नीतिगत र कानुनी सुधारसँगै आयोजना कार्यान्वयनमा हुने ढिलासुस्ती र अन्य विकृतिहरूलाई पनि पूर्ण रूपमा अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे।

कात्तिक १९, २०८३ बिहीबार १८:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।