कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो
काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई सोधपुछका लागि बोलाएको छ।
हाल काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई ब्युरोले टेलिफोन सम्पर्क गरी उपस्थित हुन भनेको हो।
साइबर ब्युरोको सूचनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र ब्युरोमा उपस्थित हुने स्पष्ट पारेका छन्।
सरकारले डर-त्रास देखाएर सत्ता चलाउन खोजेको आरोप लगाउँदै उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु।’
ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई सोधपुछका लागि बोलाइएको हो।
शिवाकोटीले पछिल्ला केही दिनदेखि सरकारले विधि-विधान मिचेर काम गरिरहेको र विपक्षी दल कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सामाजिक सञ्जालमार्फत तीव्र आलोचना गर्दै आएका छन्।
विशेषगरी, प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका इनम सापकोटाको बयानको अडियो सार्वजनिक भएपछि शिवाकोटीले पत्रकार खड्काको भूमिकामाथि प्रश्न उठाएका थिए।
उनले सामाजिक सञ्जालमा खड्काको दाबीलाई प्रतिवाद गर्दै प्रतिपक्षले उठाएका गम्भीर सवालहरूको सरकारले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरेका थिए।
कात्तिक १९, २०८३ बिहीबार १०:२४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।