डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये चार कैदी पक्राउ
कर्णाली : डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठ जनामध्ये चार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा बलात्कारसम्बन्धि कसुरमा आठ वर्ष कैद सजाय तोकिएका त्रिपुरासुन्दरी नगरपालिका–७ डोल्पाका २९ वर्षीय कालीप्रसाद रोकाय र नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका नलगाड नगरपालिका–९ जाजरकोटका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्। उनीहरूलाई बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
मङ्गलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका जबरजस्ती करणी मुद्दाका कैदी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ सल्यान घर भएका जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय रेशम राना पक्राउ परेका थिए। चेकजाँचको क्रममा भाग्न खोज्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता राठौरले बताए।
यही कात्तिक १४ गते शुक्रबार बिहान ६ बजे डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी भागेका थिए। भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कात्तिक १८, २०८३ बुधबार १६:०४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।