तिहारका लागि राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर बिहीबार र शुक्रबार बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो।
राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक/एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ। सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन्।
राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ।
असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ।
कात्तिक १८, २०८३ बुधबार १२:०४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।