पाँच कृषि स्नातकको अठोट : स्थानीय बजारमा अब भारतीय होइन, बुटवलकै सयपत्री

पाँच कृषि स्नातकको अठोट : स्थानीय बजारमा अब भारतीय होइन, बुटवलकै सयपत्री

बुटवल : तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग उच्च हुन थालेको छ। माग धान्न र स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन बुटवल उपमहानगरपालिका-१५ सेमलारस्थित ‘फोकस मल्टी एग्रो’लाई अहिले फूल टिप्ने, माला उन्ने र बजारीकरण गर्ने चटारो छ।

कृषि अध्ययन गरेका ५ जना युवाहरूको समूहले व्यावसायिक खेती र अनुसन्धानलाई सँगसँगै अघि बढाउने उद्देश्यले यो फार्म सञ्चालन गरेका हुन्। फार्मले यस वर्ष एक बिघा क्षेत्रफलमा व्यावसायिक सयपत्री फूलखेती गरेको छ, जहाँ अहिले ढकमक्क सयपत्री र मखमली फुलेका छन्।

फार्मका सञ्चालक राजेश कुँवरका अनुसार यस वर्ष ६ प्रकारका सयपत्रीका जातहरू लगाइएको छ। उत्पादन र बजारको अवस्था निकै उत्साहजनक रहेको बताउँदै उनले तिहारमा बुटवलबासीलाई बाहिरबाट आयातित फूल किन्न नपर्ने गरी स्थानीय बजारमै आपूर्ति गर्ने लक्ष्य राखिएको जानकारी दिए।

यस वर्ष फूल बिक्रीबाट ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य फार्मको छ। उत्पादन लागत कटाएर करिब ४ लाख रुपैयाँ खुद आम्दानी हुने अनुमान गरिएको छ।

फार्मबाट थुँगा र माला दुवै रूपमा फूल बिक्री भइरहेको छ। व्यक्तिगत उपभोक्ताका साथै स्थानीय होटलहरूले पनि अग्रिम माग गरिरहेका छन्। फूल टिप्ने तीन चरणमा करिब ४ हजार ५ सय माला तयार हुने र थप थुँगासमेत बिक्री गरिने फार्मले जनाएको छ।

कतिपय फूल समयभन्दा अगावै फुलेकाले क्षति न्यूनीकरण गर्न शीतभण्डार (कोल्ड स्टोर) मा राखेर व्यवस्थापन गरिएको कुँवरले बताए।

कोभिडकालीन सोच : ‘पढेका युवा किन विदेशिने ?’
फोकस मल्टी एग्रोको जग कोभिड-१९ महामारीको लकडाउनका समयमा बसेको थियो। सन् २०१६ मै एक परियोजनामार्फत किसानहरूसँग नजिक भएर काम गरेका कुँवरले कृषि क्षेत्रका सम्भावना र जोखिमलाई नजिकबाट नियालेका थिए।

कृषि अध्ययन गरेका युवाहरूमा विदेश जाने होड चलिरहेका बेला आफ्नै माटोमा सम्भावना खोज्नुपर्छ भन्ने अठोटका साथ आफूहरू व्यावसायिक कृषिमा होमिएको कुँवर बताउँछन्।

‘कृषि पढ्दा किताबमा जति सजिलो देखिन्छ, व्यवहारमा त्यति नै चुनौतीपूर्ण छ। त्यही जोखिम मोलेर हामी खेतमै ओर्लिएका हौँ’, कुँवरले भने।

फूलको माग वर्षैभरि हुने भएकाले तिहारबाहेक विवाह, पूजाआजा र सभा-समारोहलाई लक्षित गरी यसलाई मुख्य बालीका रूपमा रोजिएको उनले बताए। फार्मले जग्गा भाडामा लिएर एकीकृत कृषि प्रणालीअन्तर्गत अन्य बालीको उत्पादन र अनुसन्धानसमेत गर्दै आएको छ।

बजारको मागअनुसार ६ जातका सयपत्री
फार्मका अर्का सञ्चालक सरोज भट्टराईका अनुसार अघिल्लो वर्ष परीक्षणका रूपमा २ जात मात्र लगाइएकोमा यस वर्ष विविधता थपेर ६ जातका सयपत्री खेती गरिएको छ। जसमा कर्मा ५५५, टेनिसबल, अमेरिसिडको सोमती ओरेन्ज, र आगाको बेङ्गाल ओरेन्जलगायत छन्।

‘उपभोक्ताको आवश्यकता फरक-फरक हुन्छ। कसैलाई माला उन्न लामो समय टिक्ने फूल चाहिन्छ भने कसैलाई पूजाका लागि थुँगा,’ भट्टराईले भने, ‘कर्मा ५५५, टेनिसबल र सोमती ओरेन्ज मालाका लागि निकै उत्कृष्ट मानिन्छन्। त्यसैले बजारको माग र उपभोक्ताको चाहना बुझेर मात्र व्यावसायिक खेती गर्नुपर्छ।’

भारतीय फूलसँग प्रतिस्पर्धाले उत्पादन लागत नै मुख्य चुनौती
नेपाली उत्पादन गुणस्तरीय भए पनि भारतीय फूलसँग प्रतिस्पर्धा गर्न लागतका कारण कठिन हुने गरेको सञ्चालकहरूको अनुभव छ।

भारतमा मल, बीउ र प्रविधिमा सरकारले दिने अनुदान तथा सहुलियतका कारण त्यहाँको उत्पादन लागत निकै कम हुन्छ। तर नेपालमा मलखाद, जग्गा भाडा र महँगो श्रमिक ज्यालाका कारण स्थानीय उत्पादनको लागत बढ्न पुग्छ।

‘हाम्रो उत्पादन लागत नै बढी पर्छ। त्यसमाथि चाडपर्वमा बिचौलिया व्यापारीले राख्ने अस्वाभाविक नाफाले गर्दा उपभोक्तासम्म पुग्दा स्वदेशी फूल महँगो देखिन्छ,’ कुँवर भन्छन्, ‘स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले उत्पादन लागत घटाउने नीति ल्याउनैपर्छ।’

बाँझो जमिन उपयोग र चक्लाबन्दीको खाँचो
कृषिमा युवा तथा नयाँ किसानलाई आकर्षित गर्न जग्गाको चक्लाबन्दी अनिवार्य भइसकेको कुँवरको सुझाव छ। खेतीयोग्य जमिन खण्डीकरण हुँदा व्यावसायिक उत्पादन विस्तार गर्न र यान्त्रिकीकरणमार्फत लागत घटाउन सकस भएको उनी बताउँछन्।

स्थानीय तहहरूले बाँझो तथा सार्वजनिक जमिनलाई चक्लाबन्दी गरी कृषि उद्यमीलाई सस्तो दरमा लिजमा उपलब्ध गराउनुपर्ने उनको माग छ।

साथै, सरकारले वितरण गर्ने कृषि अनुदान झोलामा नभई वास्तविक उत्पादन, क्षमता र बजारको मागका आधारमा दिनुपर्ने तथा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तोकेर बजारीकरणको ग्यारेन्टी गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

कात्तिक १८, २०८३ बुधबार ०८:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।