भारतीय विदेश सचिव काठमाडौंमा, बालेनकै कारण पाँच महिनाअघि रोकिएको थियो भ्रमण

भारतीय विदेश सचिव काठमाडौंमा, बालेनकै कारण पाँच महिनाअघि रोकिएको थियो भ्रमण

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका सिलसिलामा बुधबार बिहान काठमाडौं आइपुगेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका विदेश सचिव मिश्रीले आजै आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डल स्तरको द्विपक्षीय औपचारिक वार्ता गर्नेछन्।

छलफलमा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा, पूर्वाधार तथा कनेक्टिभिटी, ऊर्जा र आपसी हितका विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

पाँच महिनाअघि रोकिएको भ्रमण र ‘बालेन फ्याक्टर’
यसअघि करिब पाँच महिनापहिले नै विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउने तयारी भएको थियो।

तर, कूटनीतिक मर्यादा (प्रोटोकल) र एजेन्डालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले उनलाई भेट्न अनिच्छा देखाएको र समय दिन नमानेको चर्चा कूटनीतिक वृत्तमा चलेपछि उनको त्यो भ्रमण अन्तिम समयमा स्थगित भएको थियो।

उक्त कूटनीतिक संशय र संवादहीनताको पाँच महिनापछि अन्ततः मिश्री काठमाडौं ओर्लिएका हुन्।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको गृहकार्य
स्रोतका अनुसार यसपटक मिश्रीको भ्रमण मुख्यतया प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यसूची (एजेन्डा) तय गर्न र पूर्वतयारी मिलाउन केन्द्रित छ।

प्रधानमन्त्री शाह मंसिर पहिलो साता नयाँदिल्ली भ्रमणमा जाने तयारी भइरहेको छ।

मिश्रीको यो भ्रमणले दुई देशबीच विगतमा देखिएका असमझदारीलाई चिर्दै उच्चस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ।

भारतीय विदेश सचिव मिश्री नेपालका उच्चपदस्थ अधिकारीहरूसँगको महत्त्वपूर्ण भेटवार्ता सम्पन्न गरी भोलि नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।

कात्तिक १८, २०८३ बुधबार ११:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।