जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु, अभियुक्त फरार

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु, अभियुक्त फरार

सुर्खेत : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु भएको छ।

जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका हुन्।

मंगलबार साँझ करिब ७:४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा भएको उक्त आक्रमणबाट गम्भीर घाइते भएका भबिरामको समयमै उपचार नपाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।

घटनाबारे राति करिब ९:४० बजे सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तिलक चन्दको नेतृत्वमा खटिएको सात जनाको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ।

घटनापछि बले थापा फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए।

कात्तिक १८, २०८३ बुधबार १०:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।