विपक्षीलाई १०० रन कटाउनै नदिने रोहित, भने- 'खेलाडी परीक्षण पछि गरौँला'

विपक्षीलाई १०० रन कटाउनै नदिने रोहित, भने- 'खेलाडी परीक्षण पछि गरौँला'

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार उत्कृष्ट बलिङ प्रदर्शनसहित अपराजित यात्रा कायमै राखेको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टोलीको मुख्य ध्यान व्यक्तिगत मौकाभन्दा पनि जित र प्लेअफ सुरक्षित गर्नमा केन्द्रित रहेको बताएका छन्।

लगातार तेस्रो खेलमा विपक्षी टोलीलाई १०० रन कटाउन नदिई सहज जित निकालेपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले हालसम्म ब्याटिङको परीक्षण हुन नपाए पनि त्यसले कुनै फरक नपार्ने स्पष्ट पारे।

खेलाडीहरूलाई पर्याप्त ब्याटिङको अवसर नमिलेको विषयमा सोधिएको प्रश्नमा रोहितले भने, “हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टिमको जित हो। पहिले प्लेअफमा स्थान पक्का गरौँ, त्यसपछि मात्र आवश्यकताअनुसार अन्य खेलाडीहरूलाई मौका दिने र ब्याटिङ अर्डर परीक्षण गर्नेबारे सोचौँला। टिम नै पहिलो प्राथमिकता हो, कसैले ब्याटिङ पाएन वा अवसर पाएन भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ।”

विपक्षीलाई १०० रन कटाउनै नदिने बलिङ युनिटको तारिफ
लुम्बिनीको बलिङ प्रदर्शन प्रतियोगिताकै सबैभन्दा घातक देखिएको छ। कप्तान रोहितले आफ्नो बलिङ युनिट निकै सन्तुलित र एकढिक्का रहेको भन्दै बलरहरूको खुलेर प्रशंसा गरे।

“हाम्रो मुख्य शक्ति नै बलिङ हो। नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान आज बिहान मात्र फ्लाइटबाट काठमाडौँ आइपुगेर सिधै मैदान उत्रिए र उत्कृष्ट बलिङ गरे,” रोहितले भने, “उनीसँगै शेर मल्ल, अभिषेक गौतम, र तिलक भण्डारीले लगातार अनुशासित र किफायती बलिङ गरिरहेका छन्।”

‘बेन्च बलियो हुनु कप्तानका लागि मिठो टाउको दुखाइ’
टोलीमा राष्ट्रिय तथा विदेशी खेलाडीहरू बेन्चमा बस्नुपरेको सन्दर्भमा रोहितले यसलाई कप्तानका लागि ‘गुड हेडेक’ (मिठो समस्या) को संज्ञा दिए।

“प्लेइङ ११ मा नपरेका साथीहरू पनि उत्तिकै क्षमतावान् छन्। बेन्चमा बस्ने खेलाडीहरूले मैदान बाहिरबाट जसरी टिमलाई ऊर्जा र साथ दिइरहनुभएको छ, त्यो निकै तारिफयोग्य छ। सबै खेलाडीले टिमलाई अघि राखेका छन्,” रोहितले भने। 

बंगलादेशी खेलाडी समिम हुसेनले ब्याटिङको मौका नपाए पनि मैदानमा डाइभ हानेर उत्कृष्ट फिल्डिङमार्फतटिमलाई सहयोग गरिरहेको उनले उदाहरण दिए।

विदेशी खेलाडीको पूर्ण प्रतिबद्धता र आसिफको आगमन
अन्य टोलीका केही विदेशी खेलाडीहरू प्रतियोगिताको बिचमै फर्किने चर्चा चलिरहँदा लुम्बिनीका विदेशी खेलाडीहरू भने पूरै प्रतियोगिताका लागि उपलब्ध रहने रोहितले खुलाए।

“हाम्रो टिममा आउनुभएका सबै विदेशी खेलाडीहरू प्रतियोगिताभर खेल्न पूर्ण रूपमा प्रतिबद्ध हुनुहुन्छ,” उनले भने।

अक्सनबाट टोलीमा भित्रिएका राष्ट्रिय टोलीका ओपनर आसिफ शेख र तीव्र गतिका बलर किशोर महतोले टिमलाई थप मजबुत बनाएको उनले बताए। 

“आसिफसँग ५-७ वर्षको राष्ट्रिय टिमको अनुभव छ, उनको उपस्थितिले हाम्रो शीर्षक्रमलाई स्थिरता दिएको छ। किशोर आएपछि हाम्रो पेस अट्याक अझै धारिलो भएको छ,” कप्तान रोहितले थपे।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले सहज जित निकालेको थियो भने वर्षाका कारण चितवन राइनोजसँगको दोस्रो खेल रद्द भएपछि अंक बाढेका थिए। तेस्रो खेलमा पोखरा एभेन्जर्स दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ११.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो।

कात्तिक १७, २०८३ मंगलबार २१:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।