पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा
काठमाडौं : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार पोखरा एभेन्जर्समाथि ८ विकेटको सहज जित निकालेको छ।
पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ११.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो। जितसँगै तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिँदा पोखराले भने लगातार तेस्रो हार व्यहोरेको छ।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनरद्वय आसिफ शेख ७ रनमा रनआउट र डार्सी सर्ट १३ रनमा विपिन खत्रीको बलमा क्याच आउट भए। त्यसपछि कप्तान रोहित पौडेल र निरोसन डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेर टोलीलाई जित दिलाए।
रोहितले ३२ बलमा समान ३ चौका र ३ छक्कासहित नटआउट ४७ रन बनाए भने डिकवेलाले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे। पोखराका लागि विपिन खत्रीले १ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनमै समेटिएको थियो। उसका लागि चामिका करुणारत्नेले १७ बलमा २५ रन (२ छक्का) बनाए। यस्तै कप्तान कुशल भुर्तेलले १४, महेदि हसनले १३ र किरण ठगुन्नाले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
पोखरालाई सस्तैमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलमेनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। यस्तै तिलक भण्डारीले २ विकेट चट्काउँदा शेर मल्ल, रोहित पौडेल र एक मेडनसहित अभिषेश गौतमले समान १-१ विकेट लिए।
कात्तिक १७, २०८३ मंगलबार २०:०६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।