एनपीएल छाड्नुअघि रदरफोर्डले भने- ‘दीपेन्द्रबाट नेपाली खेलाडीले सिक्नुपर्छ, उनको ऊर्जा गज्जबको छ’
काठमाडौं : वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर शेर्फेन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट आफ्नो यात्रा टुङ्ग्याउँदै कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्व र नेपाली समर्थकको खुलेर प्रशंसा गरेका छन्।
एनपीएलमा आफ्नो अन्तिम खेलपछि आयोजित पत्रकार सम्मेलनमा रदरफोर्डले आफू फर्किए पनि टोलीलाई उपाधि जिताउन वेस्ट इन्डिजकै अर्का अलराउन्डर फेबियन एलेन काठमाडौं आइपुग्न लागेको जानकारी दिए।
आफ्ना कप्तान दीपेन्द्र सिंह ऐरीको तारिफ गर्दै रदरफोर्डले भने, “दीपेन्द्र विश्वस्तरीय खेलाडी हुन्। क्यानडाको ग्लोबल टी-२० मा पनि मैले उनीसँग खेलेको थिएँ। उनको निडर (फियरलेस) क्रिकेट, मैदानभित्रको ऊर्जा, चलाखी र विनम्रता लोभलाग्दो छ। अन्य नेपाली युवा खेलाडीहरूले दीपेन्द्रबाट धेरै कुरा सिक्न सक्छन्।”
सुदूरपश्चिम रोयल्सको समर्थकको क्रेजबारे बोल्दै उनले आफू ड्राफ्टमा छनोट भएदेखि नै सामाजिक सञ्जालमा आएको प्रतिक्रिया देखेर अचम्मित भएको बताए।
“झरी पर्दा समेत सुदूरपश्चिमलाई समर्थन गर्न आएका दर्शकहरूको माया म कहिल्यै भुल्ने छैन,” रदरफोर्डले भने, “सुदूरपश्चिमसँग उपाधि जित्ने उत्कृष्ट टोली छ। म भौतिक रूपमा यहाँ नरहे पनि घरबाटै टोलीलाई समर्थन गर्नेछु।”
आफ्नो स्थानमा आउन लागेका फेबियन एलेनबारे बोल्दै उनले भने, “सुदूरपश्चिममा अब फेबियन एलेन आउँदैछन्। उनी अर्का उत्कृष्ट र प्रभावशाली खेलाडी हुन्। उनले टोलीमा आएर तुरुन्तै खेल जिताउने इनिङ्स खेल्नेछन् भन्नेमा म विश्वस्त छु।”
एनपीएललाई अन्य विदेशी लिगहरूसँग तुलना गर्न नहुने बताउँदै उनले यो लिगको आफ्नै विशिष्ट पहिचान रहेको र विश्वले यसलाई हेरिरहेको बताए। अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले नेपाली क्रिकेटको स्तर झनै माथि उठ्ने उनको विश्वास थियो।
कात्तिक १६, २०८३ सोमबार २२:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।