खेल लगभग जितिसकेका थियौं, अन्तिम बलमा रसेलले नराम्ररी झुक्क्याए : सैफ हसन

खेल लगभग जितिसकेका थियौं, अन्तिम बलमा रसेलले नराम्ररी झुक्क्याए : सैफ हसन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सविरुद्ध अन्तिम बलसम्म लडेर पनि जित दिलाउन नसकेपछि जनकपुर बोल्ट्सका बंगलादेशी स्टार ब्याटर सैफ हसनले निराशा व्यक्त गरेका छन्।

अन्तिम ओभरको अन्तिम बलमा क्याच आउट भएपछि क्रिजमै लामो समय पल्टिएका सैफले पत्रकार सम्मेलनमा जित हातैमा आइसकेको अवस्थामा गुम्नु पीडादायी भएको बताए।

“हामीले खेल लगभग जितिसकेका थियौं, तर अन्तिममा फिनिस गर्न सकेनौं,” भावुक हुँदै सैफले भने, “सुरुवाती विकेट चाँडै गुमेपछि निकै मिहिनेत गरेर खेललाई यहाँसम्म ल्याएका थियौं। अन्तिम बलमा आएर खेल चिप्लियो। यो जित टिमका लागि दुई अंक जोड्न निकै महत्त्वपूर्ण थियो, त्यसैले एकदमै दुःख लागेको छ।”

अन्तिम बलमा रसेलको त्यो ‘ब्लफ’
जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको थियो र बलिङमा वेस्ट इन्डिजका आन्द्रे रसेल थिए। क्रिजमा अर्धशतक प्रहार गरिसकेका सैफ टिकिरहेका थिए। 

अन्तिम बलमा जितका लागि चौका/छक्का आवश्यक रहेको अवस्थामा भएको नाटकीय क्षणबारे सैफले भने, “अन्तिम ओभरमा १३ रन सम्भव थियो। तर, अन्तिम बलमा रसेलले मलाई पूर्ण रूपमा झुक्क्याए। स्क्वायर लेगको फिल्डर अगाडि भएकाले म उनले ‘योर्कर’ फाल्नेछन् भन्ने सोचमा थिएँ। तर, उनले अप्रत्याशित रूपमा सर्ट बल (बाउन्सर) फालिदिए। म त्यो बलको लागि तयार थिइनँ, जसले गर्दा मैले विकेट गुमाउन पुगेँ।”

युवा खेलाडी विशालको प्रशंसा र कठिन पिच
सुरुवाती पावरप्लेमै कठिन परिस्थितिमा परेको टोलीलाई उकास्न युवा नेपाली ब्याटर विशाल सुस्लिङसँग भएको साझेदारीको सैफले प्रशंसा गरे।

उनले भने, “पिच निकै कठिन थियो, स्पिनरहरूले राम्रो ग्रिप पाइरहेका थिए। मैले विशाललाई नतिजाको धेरै चिन्ता नगरी ओभर-बाइ-ओभर खेल्दै खेललाई अन्तिमसम्म लैजान सल्लाह दिएको थिएँ। उसले निकै निडर भएर उत्कृष्ट ब्याटिङ गर्यो।” 

‘जनकपुरको फ्यानबेस र नेपाली समर्थक गजबका छन्’
नेपालको घरेलु क्रिकेट संरचना, समर्थक र वातावरणबाट आफू निकै प्रभावित भएको उनले बताए। कीर्तिपुर मैदानमा दर्शकको उपस्थिति र समर्थनबारे बोल्दै उनले भने, “मैदानमा हरेक खेलमा दर्शकको भरिपूर्ण उपस्थिति छ। विशेषगरी जनकपुरको फ्यानबेस निकै बलियो र ऊर्जावान् देखिन्छ।”

बंगलादेश प्रिमियर लिग (बीपीएल) सँग तुलना गर्दै उनले एनपिएल भर्खरै सुरुवाती संस्करणहरूमा रहे पनि यहाँको व्यवस्थापन, खेलाडीहरूको सम्मान र दर्शकको क्रेज अन्तर्राष्ट्रिय स्तरकै रहेको बताए।

आजको हारले शीर्ष दुईमा पुग्ने यात्रामा केही धक्का लागे पनि प्रतियोगितामा अझै धेरै खेल बाँकी रहेकाले जनकपुरले शीर्ष दुईभित्र रहेर क्वालिफायर खेल्ने लक्ष्य कायमै राखेको उनले प्रस्ट पारे।

कात्तिक १७, २०८३ मंगलबार १८:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।