एनपिएलमा रमाए आन्द्रे रसेल, भने : ‘नेपाल यति मन पर्यो कि अहिलै घर फर्किन्नँ’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्धको खेलमा अन्तिम ओभरमा रोमाञ्चक बलिङ गर्दै विराटनगर किङ्सलाई अविश्वसनीय जित दिलाएका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपाली क्रिकेट, खेलाडी र यहाँको वातावरणको खुलेर प्रशंसा गरेका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा ‘प्लेयर अफ द म्याच’ घोषित रसेलले आफू तत्काल स्वदेश नफर्किने र विराटनगरका लागि कम्तीमा अझै एउटा खेल खेल्ने स्पष्ट पारे। यो आफ्नो अन्तिम खेल हो कि भन्ने पत्रकारको प्रश्नमा मुस्कुराउँदै उनले भने, “होइन, यो मेरो अन्तिम खेल होइन। म अझै एउटा खेल खेल्नेछु। मलाई नेपाल यति धेरै मन पर्यो कि म बस्दै छु, अहिले घर जाँदिनँ।”
अन्तिम ओभरको त्यो ‘थ्रिलर’
जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको अवस्थामा कप्तान सन्दीप लामिछानेले बल रसेलको हातमा थमाएका थिए। क्रिजमा अर्धशतक बनाएर टिकिरहेका सैफ हसन थिए।
अन्तिम ओभरको अनुभव सुनाउँदै रसेलले भने, “१९औँ ओभर सकिँदा मैले कम्तीमा १० रन डिफेन्ड गर्न पाए हुन्थ्यो भन्ने सोचेको थिएँ, तर मलाई १३ रन मिल्यो। अन्तिम बलमा अलिकति डर र रोमाञ्चकता दुवै थियो। ब्याटरले यर्कर वा फुल लेन्थ बल कुरिरहेको बेला मैले सर्ट बल (बाउन्स) फाल्ने जोखिम मोलेँ, जुन रणनीति सफल भयो।”
‘नेपालले अबका केही वर्षमा विश्वका ठूला टोलीलाई हराउनेछ’
नेपाली क्रिकेट र यहाँको प्रतिभाबाट आफू निकै प्रभावित भएको रसेलले बताए। यहाँका पिचहरू क्यारेबियन जस्तै स्पिन र असमान उछालयुक्त भएकाले ब्याटरका लागि सजिलो नभएको उनको भनाइ थियो।
“नेपालमा अत्यधिक क्रिकेट प्रतिभा छ। यहाँको घरेलु संरचनामा मैले १५ देखि २० जना जस्ता युवा खेलाडी देखेको छु, जो राष्ट्रिय टोलीमा पर्न योग्य छन्,” रसेलले भने, “उनीहरूले सही मार्गदर्शन पाए र सिक्ने भोक कायम राखे भने आउँदा केही वर्षमै नेपालले विश्व क्रिकेटका दिग्गज टोलीहरूलाई हराउनेछ। नेपालले वेस्ट इन्डिजलाई हराइसकेको इतिहास छँदै छ, त्यसैले यहाँको सम्भावना निकै ठूलो छ।”
लोकेश बमलाई दिएको त्यो सल्लाह
विराटनगरका सहकर्मी युवा ब्याटर लोकेश बमसँग आफ्नो गहिरो आत्मीयता बनेको रसेलले खुलाए। सुरुवाती दिनमा लोकेश अलि छिटो रिसाउने स्वभावको देखेर आफूले सम्झाएको उनले स्मरण गरे।
“मैले पहिलो दिन नै उसको काँधमा हात राखेर भनेको थिएँ- कुल भएर खेल, राम्रो मान्छे बन,” रसेलले भने, “त्यसपछि हामीबिच लामो कुराकानी भयो। क्रिजमा कसरी धैर्यता राख्ने, इनिङ्स कसरी बनाउने र सेट भइसकेपछि विकेट नफाल्नेबारे मैले उसलाई सिकाएँ। अहिले उसको ब्याटिङमा निकै सुधार र रन बनाउने भोक देखिएको छ।”
‘करिअरकै सबैभन्दा रमाइलो ड्रेसिङ रुम’
विराटनगरको ड्रेसिङ रुमको वातावरणबारे बोल्दै उनले संसारभर सयौं खेलाडीसँग खेले पनि विराटनगरको जस्तो हँसिलो र आत्मीय माहोल विरलै पाएको बताए। कप्तान सन्दीप लामिछानेसँग आइपिएलदेखिकै चिनजान रहेको स्मरण गर्दै उनले नेपालका मानिसहरूको आतिथ्यता, हिमालको दृश्य र यहाँको मौसमको समेत मुक्तकण्ठले प्रशंसा गरे।
५० भन्दा बढी रन प्रहार गर्नुका साथै ५०० टी-२० विकेट र १० हजार रनको दुर्लभ कोशेढुङ्गाबारे बोल्दै रसेलले भने, “यो रेकर्ड तोड्न अब आउने तीव्र गतिको अलराउन्डर कुनै ‘सुपरम्यान’ नै हुनुपर्छ।”
कात्तिक १७, २०८३ मंगलबार १८:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।