सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन सुरु गरेको छ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने जनाएको छ।

दुर्घटनामा परी भारतको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ। क्यानले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

आज बिहान ८ः११ बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरिचे हेलिप्याडमा अवतरण (ल्यान्डिङ) गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन्।

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा दुई विदेशी नागरिक सवार थिए।

दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि ललितपूरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ। साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ।

कात्तिक १७, २०८३ मंगलबार १६:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।