डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठमध्ये दुई जना कैदी पक्राउ
काठमाडौं : डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट भागेका आठ जनामध्ये दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
ठूलीभेरी नगरपालिका-३ दुनैमा रहेको जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान छ जना कैदी र दुई जना थुनुवा गरी आठ जना सुरुङ खनेर फरार भएका थिए।
फरार भएकाहरूको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० घर भएका ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका-५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन्।
दुवै जना जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय काटिरहेका थिए। १८ वर्ष कैद सजाय तोकिएका कामीको १३ वर्ष कैद भुक्तान गर्न बाँकी थियो भने १२ वर्ष सजाय पाएका रानाको ९ वर्ष कैद अवधि बाँकी रहेको थियो।
उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइँदै छ। कारागारबाट भागेका अन्य चार जना कैदी र दुई जना थुनुवाको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
कात्तिक १७, २०८३ मंगलबार १५:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।