दुई महिनापछि सञ्चालनमा आयो इ-जिपी प्रणाली, बोलपत्र दर्तामा अनलाइन र हार्डकपी दुवै सुविधा
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरक्षा जोखिम देखिएपछि दुई महिनादेखि रोकिएको विद्युतीय खरिद प्रणाली (इ-जिपी) सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले नयाँ विद्युतीय खरिद प्रणाली विकास गरेपछि पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको हो। अहिले सार्वजनिक निकाय, आपूर्तिकर्ता र बोलपत्रदाताका लागि उक्त प्रणाली खुला गरिएको छ।
प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विद्युतीय खरिद प्रक्रिया पूर्ण रूपमा स्थगित गरिएको थियो। कात्तिक १७ गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्रहरू अब यसै प्रणालीमार्फत मात्र प्रकाशन गर्न सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिइएको छ। बोलपत्र प्रस्ताव पेश गर्ने प्रक्रियामा भने लचकता अपनाइएको छ।
बोलपत्रदाता वा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमै हार्डकपीमध्ये कुनै एक माध्यम रोजेर प्रस्ताव दाखिला गर्न पाउनेछन्। सार्वजनिक निकायहरूले सोहीअनुरूपको व्यवस्था मिलाउनुपर्नेछ।
प्रस्ताव दाखिलामा दुवै विकल्प दिइए पनि बोलपत्रको खोलुवा (ओपनिङ) र मूल्याङ्कन (इभ्यालुएसन) भने अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत नै गर्नुपर्नेछ। कार्यालयका कम्प्युटर अधिकृत ई. निर्मल लामाका अनुसार हार्डकपीमार्फत दर्ता भएका बोलपत्र प्रस्तावहरूको सम्पूर्ण अभिलेख मुचुल्का तथा मूल्याङ्कन प्रतिवेदनमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।
कात्तिक १७, २०८३ मंगलबार १६:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।