नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबिच एकता, मंसिरभित्र समायोजन सकिने
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ।
मंगलबार दुवै दलका नेताहरूले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने लक्ष्यका साथ १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ।
सहमति अनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने छ। पार्टीको तात्कालिक कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ।
दुई पार्टीबिचको सहमतिमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने जनाइएको छ। समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा उपयोग गरिने सहमति भएको छ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने सहमति भएको छ। त्यसअघि केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ।
केन्द्रीय समिति, सचिवालय र जनसंगठनहरूलगायत सबै तहका निकायहरूमा सहमतिका आधारमा एकता गरिनेछ। यो समायोजन कार्य आगामी मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ।
दुई पार्टीबिचको यो सहमतिले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि साझा राजनीतिक तथा संगठनात्मक आधार तयार गर्ने लक्ष्य राखेको छ।
कात्तिक १७, २०८३ मंगलबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।