सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइते विदेशी नागरिकको पहिचान खुल्यो

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइते विदेशी नागरिकको पहिचान खुल्यो

काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरिचे हेलिप्याडमा दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन्।

दुर्घटनामा परी घाइते भएका भारतीय मूलका न्युजिल्याण्ड नागरिक सेलियसकुमार पटेल रहेको उनले बताए। पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

मंगलबार बिहान ८ बजेर ११ मिनेटमा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर अवतरण (ल्यान्डिङ) गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १७, २०८३ मंगलबार ११:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।