तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंमा ३३ स्थान तोकिए, प्लास्टिकका माला बेचे जफत गरिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ।
नेपाली किसानले उत्पादन गरेका स्वदेशी फूलको बजारीकरणलाई व्यवस्थित र सहज बनाउन महानगरले यो व्यवस्था मिलाएको हो।
महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा पूर्ण रूपमा रोक लगाएको छ। आयातित वा प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।
महानगर प्रहरी बलद्वारा जारी सूचनाअनुसार, यदि कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा तत्काल जफत गरिनेछ।
महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ।
त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ।
कात्तिक १७, २०८३ मंगलबार १०:४५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।