लोकेश बम, आन्द्रे रसेल र इमरान शेखको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनायो।
विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रे रसेल र इमरान शेखले अर्धशतक पूरा गरे।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन तथा ओपनर लोकेश बमले ५० रनको योगदान दिए। इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने लोकेशले ४० बल खेल्दै ३ चौका र ३ छक्का जोडे।
इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए। जारी सिजनको एनपीएलमा बनेको यो पहिलो शतकीय साझेदारी समेत हो।
यस्तै, आक्रामक ब्याटर आन्द्रे रसेलले विष्फोटक ब्याटिङ गर्दै मात्र २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे। शुभम रञ्जाने ७ रनमा अविजित रहे।
बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
विराटनगरले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। आज चौथो खेल खेलिरहेको विराटनगर दोस्रो जितको खोजीमा छ। यता, जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।
अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। तेस्रो खेल खेल्न लागेको पोखरा प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।
कात्तिक १७, २०८३ मंगलबार १४:३५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।