ग्लेन म्याक्सवेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

ग्लेन म्याक्सवेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौं : अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटसँगै प्रथम श्रेणी (फर्स्ट क्लास) र लिस्ट ‘ए’ क्रिकेट यात्रामा पनि पूर्णविराम लगाएका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट छाडे पनि उनले फ्रेन्चाइज क्रिकेट भने जारी राख्नेछन्। उनी बिग ब्यास लिग (बीबीएल) मा मेलबर्न स्टार्सका लागि सन् २०२७–२८ सम्म खेल्ने सम्झौतामा आबद्ध छन्।

म्याक्सवेलले गत वर्ष नै एकदिवसीय (ओडीआई) क्रिकेट छाडिसकेका थिए भने टी-२० अन्तर्राष्ट्रियमा निरन्तरता दिँदै आएका थिए। सन् २०२६ को टी-२० विश्वकपअन्तर्गत फेब्रुअरीमा ओमानविरुद्ध खेलेको खेल नै अस्ट्रेलियाको जर्सीमा उनको अन्तिम खेल बन्न पुग्यो।

विश्वकपका नायक र ऐतिहासिक कीर्तिमान
म्याक्सवेल अस्ट्रेलियालाई दुई पटक एकदिवसीय विश्वकप (सन् २०१५ र २०२३) तथा एक पटक टी-२० विश्वकप (२०२१) को उपाधि दिलाउने प्रमुख सदस्य हुन्।

सन् २०२१ को टी-२० विश्वकप फाइनलमा उनैले विजयी रन प्रहार गरेका थिए। सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध खुट्टामा गम्भीर क्र्याम्प हुँदाहुँदै उनले खेलेको २०१ रनको अविजित ऐतिहासिक इनिङ्स क्रिकेट इतिहासकै उत्कृष्ट मानिन्छ।

१ सय ३० टी-२० अन्तर्राष्ट्रिय खेल खेलमा १५४.४२ को उत्कृष्ट स्ट्राइक रेटसहित उनले २ हजार ८९७ रन बनाउँदा ५१ विकेट लिएका छन्। उनले टी-२० आईमा ५ वटा शतक प्रहार गरेका छन्, जुन भारतीय खेलाडी रोहित शर्मासँगै संयुक्त रूपमा सर्वाधिक शतकको विश्व कीर्तिमान हो।

सात वटा टेस्ट क्रिकेटमा उनले ३३९ रन बनाएका छन्। जसमा भारतविरुद्ध राँचीमा १०४ रनको शतकीय इनिङ्ससमेत पर्छ।

घरेलु मैदानमा बिदाइ हुने चाहना थियो
‘द फाइनल वर्ड’ पडकास्टमा कुरा गर्दै म्याक्सवेलले आफ्नो घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) मा समर्थकमाझ अन्तिम बिदाइ खेल खेल्ने सानो चाहना रहेको बताए।

‘एमसीजीमा बिदाइ खेल खेल्न पाए हुन्थ्यो भन्ने सानो आशा थियो,’ म्याक्सवेलले भने, ‘तर टिम व्यवस्थापनले लिइरहेको नीति म बुझ्न सक्छु। सन् २०२८ को ओलम्पिकलाई ध्यानमा राख्दै अबको एक-दुई वर्षमा टोलीमा धेरै परिवर्तन आउनेछ। व्यवस्थापनले युवा खेलाडीहरूलाई मौका दिन चाहन्छ।’

इंग्ल्यान्डविरुद्धको आगामी शृंखलाका लागि टोलीमा पर्ने विकल्प रहे पनि उनले घुँडाको उपचार र रिह्याबलाई प्राथमिकता दिएका छन्। आठ साताको आरामपछि उनी बिग ब्यास लिगका लागि पूर्ण रूपमा तयार हुने योजनामा छन्।

कात्तिक १७, २०८३ मंगलबार ११:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।