यू-१९ एसिया कपमा नेपालले पहिलो खेलमै भारतको सामना गर्ने
काठमाडौं : ओमानमा आयोजना हुन लागेको एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटको खेलमा नेपालले आफ्नो पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।
प्रतियोगितामा सहभागी हुन नेपाली यू-१९ टोली आइतबार नै ओमान प्रस्थान गरिसकेको छ।
प्रतियोगितामा नेपाल कठिन मानिएको समूह ‘ए’ मा परेको छ। यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।
नेपालले शुक्रबार पहिलो खेलमा भारतविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा आइतबार युएईविरुद्ध खेल्नेछ।
यसका अलावा टिमले समूह चरणको अन्तिम खेलमा आगामी मंगलबार पाकिस्तानको सामना गर्नेछ।
प्रतियोगिताका सबै खेल ओमान क्रिकेट एकेडेमीमा हुनेछ भने सबै खेलहरू नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछन्।
५० ओभरको खेलको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्।
समूह चरणका खेलहरूपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
कात्तिक १७, २०८३ मंगलबार ११:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।