विराटनगरले टस हार्‍यो, अपराजित पौडेलको डेब्यु

विराटनगरले टस हार्‍यो, अपराजित पौडेलको डेब्यु

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले फिल्डिङ (बलिङ) गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले पहिले बलिङ रोजेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको हो।

यस खेलमा विराटनगर किङ्सका लागि युवा खेलाडी अपराजित पौडेलले एनपीएलमा डेब्यु गरेका छन्।

टसका क्रममा कप्तान सन्दीप लामिछानेले अलराउन्डर प्रतिस जिसीको स्थानमा आजको खेलमा अपराजितलाई प्लेइङ ११ मा समावेश गरिएको जानकारी दिए।

विराटनगरको विदेशी खेलाडीको कोटामा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, सेहान जयसूर्या र शुभम रञ्जाने मैदान उत्रिएका छन्।

यता, जनकपुरको टोलीमा कप्तान हरमित सिंहसहित इंग्लिस अलराउन्डर मोइन अली, न्युजिल्यान्डका जेम्स निसम र बंगलादेशका सैफ हसन विदेशी खेलाडीका रूपमा छन्।

तालिकामा जनकपुर बोल्ट्स ३ खेलबाट २ जित निकाल्दै ४ अंकसहित दोस्रो स्थानमा छ भने ३ खेलबाट १ जित दर्ता गरेको विराटनगर किङ्स २ अंकसहित छैटौँ स्थानमा रहेको छ।

विराटनगर किङ्स : सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), अपराजित पौडेल, बसिर अहमद, नारायण जोशी, रुपेश सिंह, इमरान शेख, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, सेहान जयसूर्या र शुभम रञ्जाने।

जनकपुर बोल्ट्स : हरमित सिंह (कप्तान), मोइन अली, जेम्स निसम, सैफ हसन, अनिल कुमार साह, ललित नारायण राजवंशी, तृप्तराज दास, अभिषेक तिवारी, विशाल सुस्लिङ, राहुल यादव र अमरसिंह राउटेला।

कात्तिक १७, २०८३ मंगलबार १२:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।