‘म्यानचेस्टर युनाइटेड प्रिमियर लिगबाट रेलिगेसनमा पर्न सक्छ’

‘म्यानचेस्टर युनाइटेड प्रिमियर लिगबाट रेलिगेसनमा पर्न सक्छ’

एजेन्सी :  म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एरिक टेन हागले क्लब प्रिमियर लिगबाट रेलिगेसन (दोस्रो डिभिजनमा घटुवा) मा पर्न सक्ने कडा चेतावनी दिएका छन्।

नेदरल्यान्ड्सको ‘ईएसपीएन’सँग कुरा गर्दै उनले प्रिमियर लिगका सबै टोली र प्रशिक्षकहरू निकै बलिया रहेकाले एकपटक लय गुमाएर ‘संकटको दुष्चक्र’मा फसेपछि जोगिन निकै कठिन हुने बताएका हुन्।

१३ पटकको प्रिमियर लिग च्याम्पियन युनाइटेडले जारी सिजनका ९ लिग खेलमध्ये जम्मा १ खेलमा मात्र जित निकालेको छ। सिजनको दोस्रो खेलयता जितविहीन बनेको क्लब हाल गोल अन्तरका आधारमा मात्र रेलिगेसन क्षेत्रभन्दा ठीक माथि छ।

बर्नमाउथसँगको पछिल्लो पराजयपछि हालका प्रशिक्षक माइकल क्यारिक बर्खास्तीको नजिक पुगेका थिए; यद्यपि व्यवस्थापनले उनलाई पुनरागमनका लागि केही समय दिएको छ।

युनाइटेडका लागि आगामी खेल तालिका निकै कठिन छ। टोलीले आगामी साताहरूमा एस्टन भिल्ला, लिभरपुल, ब्रेन्टफोर्ड र न्युकासल युनाइटेडजस्ता बलिया टोलीहरूको सामना गर्नुपर्नेछ।

यसैबिच, रोमाविरुद्धको आगामी खेलअघि बोल्दै प्रशिक्षक क्यारिकले बाहिरी दबाबलाई बेवास्ता गरेका छन्। ‘भविष्यमा के हुन्छ म भन्न सक्दिनँ, तर म आगामी खेलका लागि उत्साहित छु र मेरो सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ’, उनले भनेका छन्।

युनाइटेडबाट आफ्नो बहिर्गमन सुखद नभए पनि क्लबप्रति कुनै नराम्रो भावना नरहेको टेन हागले बताएका छन्।

उनले आफ्नो कार्यकालमा युनाइटेडको ६ वर्ष लामो उपाधिविहीन यात्रा तोड्दै काराबाओ कप र एफए कप जिताएको, टोलीलाई ६ पटक वेम्बली रंगशाला पुर्याएको र लिगमा तेस्रो स्थान दिलाएको स्मरण गराए।

क्लबका लागि आफूले उत्कृष्ट प्रदर्शन गरेको दाबी गर्दै उनले प्रिमियर लिगमा संकटको समय सुरु भएपछि जोसुकैलाई पनि सम्हाल्न गाह्रो हुने टिप्पणी गरे।

कात्तिक १७, २०८३ मंगलबार ११:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।