विश्वकपको सेयर बेच्नेबारे ‘गोप्य दस्ताबेज’ देखाउन फिफा तयार

विश्वकपको सेयर बेच्नेबारे ‘गोप्य दस्ताबेज’ देखाउन फिफा तयार

एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले विश्वकप फुटबलको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनासँग सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजहरू आफ्नो काउन्सिल सदस्यहरूलाई उपलब्ध गराउने भएको छ। यद्यपि, ती दस्ताबेजहरू अध्ययन गर्न फिफाले कडा सर्त र नियमहरू अघि सारेको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक उक्त विवादास्पद योजनाबारे विस्तृत विवरण र सुशासनसँग जोडिएका प्रश्नहरूको जवाफ दिन युरोपेली फुटबल महासंघ (युइएफए) ले नोभेम्बर २ सम्मको समयसीमा (अल्टिमेटम) दिएको थियो।

अध्यक्ष इन्फान्टिनोले योजना रद्द भएको भन्दै यसअघि नै माफी मागिसकेका छन्। तर, यो योजना कसरी र कसको निर्णयमा अघि बढाइएको थियो भन्नेबारे उनले चित्तबुझ्दो स्पष्टीकरण दिन सकेका छैनन्।

युइएफएले दिएको समयसीमा सकिन केही घण्टा बाँकी छँदा फिफाका महासचिव मत्तियास ग्राफस्ट्रोमले काउन्सिल सदस्यहरूलाई पत्र पठाउँदै दस्ताबेज हेर्न पाइने जानकारी गराएका छन्।

तर, सदस्यहरूले ती कागजात बाहिर लैजान पाउने छैनन्। उनीहरूले स्विट्जरल्यान्डको ज्युरिखस्थित फिफा मुख्यालयमै स्वयं उपस्थित भएर ‘कडा गोपनीयता’ का बीच मात्र ती दस्ताबेज अध्ययन गर्न पाउनेछन्। यसका लागि आगामी दुई हप्ताभित्र नाम दर्ता गराउन भनिएको छ।

१०० भन्दा बढी प्रश्न र कानुनी द्वन्द्व
युइएफएले फिफासमक्ष ८ पृष्ठ लामो पत्र पठाउँदै १०० भन्दा बढी गम्भीर प्रश्नहरूको जवाफ मागेको थियो। निर्णय प्रक्रियामा काउन्सिललाई किन सहभागी गराइएन र किन गोप्य राखियो भन्ने युइएफएको मुख्य चासो छ।

फिफाले भने यति छोटो समयमा ती सबै प्रश्नको जवाफ दिन नसकिने जनाएको छ। साथै, युइएफएले अमेरिकामार्फत कानुनी प्रक्रिया अघि बढाएको र स्विट्जरल्यान्डमा समेत फौजदारी उजुरी दिने चेतावनी दिएकाले कानुनी अड्चनका कारण तत्काल सबै विवरण खुलाउन नसकिएको फिफा स्रोतको भनाइ छ।

आगामी वर्ष हुने फिफा अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम म्याद नोभेम्बर १८ नजिकिँदै गर्दा युइएफएले इन्फान्टिनोमाथि दबाब तीव्र बनाएको विश्लेषण गरिएको छ।

यता, फिफा महासचिव ग्राफस्ट्रोमले भने काउन्सिल र सदस्य राष्ट्रहरूको अन्तिम स्वीकृतिबिना उक्त योजना कार्यान्वयन हुन नसक्ने प्रस्ट पार्दै, योजना फिर्ता लिँदा फिफालाई कुनै पनि आर्थिक वा कानुनी क्षति नपुगेको दाबी गरेका छन्।

कात्तिक १७, २०८३ मंगलबार ०७:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।