मलाई विदेशी खेलाडीले म्याच जिताउँछन् भन्ने लाग्दैन : करण केसी

मलाई विदेशी खेलाडीले म्याच जिताउँछन् भन्ने लाग्दैन : करण केसी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १८१ रनको बलियो लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

रोमाञ्चक जितपछि आयोजित पत्रकार सम्मेलनमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले विदेशी खेलाडीको भरमा मात्र खेल जित्न नसकिने धारणा राखे। टोलीका विदेशी खेलाडी डेभिड वार्नर आउट भएपछि खेल चेज गर्न सकिन्छ कि सकिँदैन भन्ने संशयबारे सोधिएको प्रश्नमा केसीले घरेलु खेलाडीहरूको भूमिका निर्णायक रहेको बताए।

उनले भने, "एनपिएलमा विदेशी खेलाडीले खेल जिताउँछ भन्ने लाग्दैन मलाई। उनीहरूलाई यहाँको कन्डिसनबारे थाहा हुँदैन। टिममा खेलेका सात जना खेलाडीले नै गेम जिताउँछन् जस्तो लाग्छ। आलिल आलम, रसिद खान लगायतका अन्य खेलाडीहरूले गरेको छोटो छोटो पार्टनरसिपले हामीलाई खेल जिताउन मद्दत गर्यो।"

१८१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंका लागि रसिद खानले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ५० रनको योगदान दिए। त्यस्तै २० बलमा ४ चौका र ३ छक्का प्रहार गरेर उत्कृष्ट ब्याटिङ गरेका कप्तान करण केसीले ४४ रन जोडे। जाहन्दाद खान २२ रनमा अविजित रहँदा मोहम्मद आदिल आलमले २० रन जोडे।

काठमाडौंबाट एनपीएलमा डेब्यु गरेका अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले भने १० बल खेल्दै १६ रनमा आउट भएका थिए। बलिङतर्फ पनि कप्तान केसीले २ विकेट लिए भने शाहब आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले समान १/१ विकेट लिएका थिए। प्रतियोगितामा पहिलो जित दर्ता गरेको काठमाडौंले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।

कात्तिक १६, २०८३ सोमबार १७:३८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।