टेस्ट राष्ट्रविरुद्ध नामिबियाले पहिलो पटक जित्यो एकदिवसीय सिरिज

टेस्ट राष्ट्रविरुद्ध नामिबियाले पहिलो पटक जित्यो एकदिवसीय सिरिज

एजेन्सी : एसोसिएट टोली नामिबियाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिलो पटक द्विपक्षीय एकदिवसीय (ओडीआई) शृङ्खला जित्दै नयाँ इतिहास रचेको छ।

घरेलु मैदान विन्डहोकमा आइतबार सम्पन्न पाँचौं तथा निर्णायक खेलमा आयरल्यान्डलाई ५ विकेटले हराउँदै नामिबियाले पाँच खेलको शृङ्खला ३-२ ले आफ्नो पक्षमा पारेको हो।

निर्णायक खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली आयरल्यान्ड नामिबियाका तीव्र गतिका बलरसामु निरीह बन्दै मात्र १२९ रनमा समेटियो। नामिबियाका जेजे स्मिट र ज्याक ब्रासेलले घातक बलिङ गर्दै मिलेर ७ विकेट लिए।

स्मिटले ९ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट चट्काए भने ब्रासेलले ३ विकेट हात पारे। आयरल्यान्डका चार जना ब्याटरले मात्र दोहोरो अङ्क जोड्न सकेका थिए।

जवाफमा १३० रनको सामान्य लक्ष्य नामिबियाले ५ विकेट गुमाएर सहजै भेट्टायो। नामिबियाको जितमा ओपनर लोरेन स्टेनक्याम्पले ४२ रन र कप्तान जेरहार्ड इरास्मसले ३० रनको योगदान दिए।

उत्कृष्ट बलिङ गरेका नामिबियाका जेजे स्मिट खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए भने पाँच खेलमा कुल २६३ रन बनाउनुका साथै ४ विकेट लिएका कप्तान जेरहार्ड इरास्मस ‘प्लेयर अफ द सिरिज’ बने।

ऐतिहासिक जितपछि नामिबियामा खुसीयाली छाएको छ। सन् २०२७ मा दक्षिण अफ्रिका र जिम्बाब्वेसँग मिलेर एकदिवसीय विश्वकप संयुक्त रूपमा आयोजना गर्न लागेको नामिबियाका लागि टेस्ट राष्ट्रमाथिको यो जितलाई ठूलो मनोबलका रूपमा हेरिएको छ।

हारपछि आयरल्यान्डका कप्तान लोर्कन टकरले आफ्नो टोलीको प्रदर्शन निराशाजनक रहेको स्वीकार्दै नामिबियालाई जितको श्रेय दिए।

उनले भने, “हाम्रा लागि यो निकै निराशाजनक दिन रह्यो। नामिबियाले पूरै शृङ्खलामा उत्कृष्ट र अनुशासित क्रिकेट खेल्यो, उनीहरू यो जितको हकदार थिए।”

कात्तिक १६, २०८३ सोमबार १३:५६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।