कर्णालीको अपराजित यात्रामा ब्रेक, काठमाडौं ४ विकेटले विजयी

कर्णालीको अपराजित यात्रामा ब्रेक, काठमाडौं ४ विकेटले विजयी

काठमाडौं : काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौं गोर्खाजले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे।

यससँगै लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगायो। दुई खेल खेलेको काठमाडौंको यो पहिलो जित हो।

काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रासिदले ३४ बलमा ३ चौका र २ छक्का हान्दै सर्वाधिक ५० रन बनाए। यस्तै कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे।

काठमाडौंबाट एनपीएलमा डेब्यु गरेका अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले १० बल खेल्दै ३ चौकाको मद्दतमा १६ रन बनाए। आदिल आलमले २७ बल खेल्दै १ छक्का प्रहार गरी २० रन जोडे जोडे। 

जहानदानले १० बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २२ रन योगदान गरे। सन्तोष यादव ३ बलमा ५ रन बनाएर नटआउट रहे।

स्मित पटेलले ९ र भिम शार्कीले ५ रन बनाए। 

बलिङमा कर्णालीका सोमपाल कामी र हुसेन तलातले समान दुई/दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनाएको थियो।

जसमा अरिफूल स्लामले ४४, हुसैन तलतले ४०,पवन सराफले ३० रनको योगदान गरे। गुल्सन झाले १२ बलमा २० रन जोडे भने अन्तिमतिर सोमपाल कामी १ रनमा अविजित रहे।
काठमाडौंका कप्तान करण केसीले २ तथा  शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान १ विकेट लिए।

आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो। दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन्।

कात्तिक १६, २०८३ सोमबार १६:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।