कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य, आरिफुलको आक्रामक ब्याटिङ

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य, आरिफुलको आक्रामक ब्याटिङ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु जितका लागि १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको सम्मानजनक योगफल तयार पारेको हो।

कर्णालीका लागि मध्यक्रमका ब्याटर आरिफुल इस्लामले उत्कृष्ट इनिङ्स खेले।

आरिफुलले मात्र २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै विष्फोटक ४४ रन बनाए। उनी शाहब आलमको बलमा डेभिड वार्नरद्वारा क्याच आउट भए।

यस्तै, हुसेन तलातले ३० बलमा ४० रनको महत्त्वपूर्ण योगदान दिए। उनी ‘हिट विकेट’ भएर पेभेलियन फर्किएका थिए।

तलात र पवन सर्राफबीच पाँचौं विकेटका लागि ६५ रनको साझेदारी जमेपछि कर्णाली बलियो स्थितिमा पुगेको थियो। पवन सर्राफ २४ बलमा २ छक्कासहित ३० रनमा अविजित रहे।

त्यसअघि ओपनर जिशान आलम ७ रनमै आउट भए पनि मार्क वाटले १७ तथा दीपक डुम्रेले ८ रन जोडे।

अन्तिम ओभरतिर आक्रामक देखिएका गुलशन झाले मात्र १२ बलमा २ छक्कासहित २० रन जोडे भने कप्तान सोमपाल कामी १ रनमा अविजित रहे।

बलिङतर्फ काठमाडौँ गोर्खाजका कप्तान करण केसीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। यस्तै, किफायती बलिङ गरेका सन्तोष यादवले २ ओभरमा मात्र ८ रन खर्चेर १ विकेट हात पारे।

काठमाडौंका लागि आजै टी-२० डेब्यु गरेका देव शाहले ३ ओभरमा २८ रन दिएर १ विकेट लिँदा शाहब आलम र जहाँदाद खानले पनि समान १-१ विकेट हात पारे।

अब काठमाडौं गोर्खाजले केही बेरमा १८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ। विश्व क्रिकेटका चर्चित ब्याटर डेभिड वार्नरको उपस्थितिले काठमाडौंको लक्ष्य पछ्याउने इनिङ्सलाई निकै रोचक र प्रतिक्षित बनाएको छ।

कात्तिक १६, २०८३ सोमबार १४:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।