फ्लोरिडामा लियरजेट विमान दुर्घटना, सवार सबै नौ जनाको मृत्यु
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडाको पाम बिच काउन्टीमा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकी यातायात सचिव सिन डफीका अनुसार टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको उक्त विमान क्रेस्टहेभननजिकैको एक व्यस्त सडकछेउ तथा मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारमा खसेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएर ठूलो आगोको मुस्लो उठेको देखिन्छ।
दुर्घटनाको समयमा राष्ट्रपति ट्रम्प मार–ए–लागोमै थिए र विमान खस्नुभन्दा करिब एक घण्टाअघि उनी नजिकैको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर फोर्स वनमार्फत उडेका थिए।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटना बताएका छन्। यद्यपि जमिनमा रहेका कोही पनि घाइते नभएको बताइएको छ। सुरक्षाका लागि आसपासका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ।
उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक गरिएको हवाई सञ्चारको अभिलेखमा चालकदलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्याबारे जानकारी दिएको सुनिन्छ। विमानले वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएको थियो।
अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालकदलले आपत्कालीन अवस्था घोषणा गरेको सुनिन्छ। सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए।
कात्तिक १६, २०८३ सोमबार १७:४१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।