नेतान्याहुद्वारा चुनाव 'चोरी भएको' दाबी, विदेशी हस्तक्षेप पुष्टि भए पनि नतिजा परिवर्तन नहुने इजरायली अधिकारीहरूको भनाइ

नेतान्याहुद्वारा चुनाव 'चोरी भएको' दाबी, विदेशी हस्तक्षेप पुष्टि भए पनि नतिजा परिवर्तन नहुने इजरायली अधिकारीहरूको भनाइ

एजेन्सी : इजरायलको केन्द्रीय निर्वाचन समितिका प्रमुख नोआम सोहल्बर्गले विदेशी हस्तक्षेप भएको दाबी पुष्टि भए पनि हालै सम्पन्न आमनिर्वाचनको नतिजा कायम रहने बताएका छन्।

आइतबार इजरायलको आन्तरिक सुरक्षा निकाय सिन बेटका प्रमुख र महान्यायाधिवक्तासँगै सार्वजनिक गरिएको भिडियोमा सोहल्बर्गले विदेशी हस्तक्षेपको आशङ्का पुष्टि भए पनि त्यसले निर्वाचन प्रक्रियाको विश्वसनीयता वा समग्र चुनावी नतिजालाई असर नगर्ने बताएका हुन्।

उनले भने, “हाम्रो धारणा छ कि यदि आशङ्काहरू प्रमाणित भएपनि यसले निर्वाचन प्रक्रियाको अखण्डता वा समग्र चुनावी नतिजालाई कमजोर पार्ने छैन।”

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले मंगलबार सम्पन्न निर्वाचनको नतिजामाथि प्रश्न उठाएको थियो। पार्टीले कुनै प्रमाण प्रस्तुत नगरी अरबी नेतृत्वका दलहरूले कतारबाट आर्थिक सहयोग लिएर मतदान ‘चोरी’ गरेको आरोप लगाएको थियो। मंगलबारको निर्वाचनमा अरबी नेतृत्वका दलहरूले उल्लेखनीय सफलता हासिल गरेका थिए।

कतारले भने उक्त आरोप अस्वीकार गर्दै यसलाई 'दुष्प्रचार अभियान' भनेको छ।

यसैबिच, यसैबीच, मङ्गलबार मतदान सुरु हुनुअघि मतदातालाई घुस दिन नगद बोकेको आरोपमा पक्राउ परेका तीन राजनीतिक कार्यकर्तामध्ये दुई जनालाई प्रहरीले रिहा गरेको छ। एक जनालाई कडा सर्तमा र अर्कालाई घरमै नजरबन्दमा राखिएको छ। 

प्रहरीका अनुसार ती शङ्कास्पद व्यक्तिहरू अरबी नेतृत्वको रा'आम पार्टीसँग सम्बन्धित थिए। उक्त पार्टीले निर्वाचनमा आठ सिट जितेको छ।

रा'आम पार्टीका नेता मन्सुर अब्बासले पक्राउको निन्दा गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र निर्वाचनको नतिजालाई प्रभावित पार्ने प्रयास भनेका छन्।

‘नतिजालाई अवैध ठहर गर्ने सुनियोजित र संगठित अभियान’

मुख्य विपक्षी नेता गादी आइजेनकोटले आइतबार नेतान्याहुमाथि निर्वाचनको नतिजालाई अवैध ठहर गराउन योजनाबद्ध र सङ्गठित अभियान चलाएको आरोप लगाएका छन्।

उनले भने, “निर्वाचनको नतिजालाई अवैध ठहर गर्न सुनियोजित र संगठित अभियान चलाइरहेका छन्।”

यसअघि आइजेनकोटले अरबी दलहरूसँग मिलेर गठबन्धन सरकार नबनाउने बताएका थिए। तर, मंगलबारको निर्वाचनले स्पष्ट बहुमत नदिएपछि सरकार गठनका लागि अरबी दलहरूसँग सहकार्य गर्ने विकल्प पनि उनको अगाडि आएको छ।

निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ सिट जितेको छ भने गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गरेको छ। इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा कुनै पनि पक्षले एक्लै सरकार गठन गर्न आवश्यक बहुमत प्राप्त गर्न सकेको छैन।

इजरायलका तीन अरबी नेतृत्वका दलले भने यस निर्वाचनमा १९ सिट जितेका छन्।

यदि आइजेनकोटले अरब दलहरूसँग गठबन्धन गरेमा संसद्‌मा ६७ सिटको सहज बहुमत पुग्छ। यद्यपि, इजरायलको राजनीतिक वृत्तमा अरब दलहरूसँग सहकार्य गर्ने विषय अझै पनि चुनौतीपूर्ण मानिन्छ।

निर्वाचनको नतिजा यसै साता औपचारिक रूपमा प्रमाणित गर्ने तयारी छ। त्यसपछि राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि एक जना उम्मेदवारलाई मनोनीत गर्नुपर्नेछ।

कात्तिक १६, २०८३ सोमबार १२:४०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।