मध्यावधि चुनावमा 'ट्रम्प फ्याक्टर' : घट्दो साखका बीच सिनेट बचाउन रिपब्लिकनलाई धौ-धौ

मध्यावधि चुनावमा 'ट्रम्प फ्याक्टर' : घट्दो साखका बीच सिनेट बचाउन रिपब्लिकनलाई धौ-धौ

एजेन्सी : अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भएको न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको संयुक्त सर्वेक्षणअनुसार डेमोक्रेटिक उम्मेदवारहरूले रिपब्लिकन पार्टीका पकड मानिएका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता कायम गरेका छन्।

यसका साथै आयोवा राज्यमा पनि दुवै पक्षबिच अत्यन्त कडा टक्कर देखिएको छ।

विभिन्न राज्यहरूको तथ्याङ्क हेर्दा टेक्सासमा डेमोक्रेटका जेम्स तालारिको ५० प्रतिशत मतका साथ रिपब्लिकनका केन प्याक्सटनभन्दा अगाडि छन्। केनले ४३ प्रतिशत मत पाएका छन्। 

कन्सासमा क्रिस ह्यामिल्टनले ४९ प्रतिशत मतसहित रोजर मार्सललाई पछाडि पारेका छन् भने मेन राज्यमा ग्राहम प्लाटनरले ५१ प्रतिशत मत प्राप्त गरी सुसान कोलिन्समाथि अग्रता लिएका छन्।

त्यसैगरी  ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि छन्। आयोवामा डेमोक्रेट जोश टुरेकले ४८ र रिपब्लिकन एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाएका छन्। मिशिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद ५३ प्रतिशतसहित अगाडि छन्।

यसपटकको निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको बढ्दो असन्तुष्टि र चर्किँदै गएको महँगी मुख्य राजनीतिक मुद्दा बनेका छन्। सर्वेक्षण गरिएका सात राज्यमध्ये ट्रम्पको कार्यसम्पादनलाई केवल ३८ प्रतिशत मतदाताले मात्र समर्थन गरेका छन्। जीवनयापनको लागत व्यवस्थापन गर्ने मुद्दामा मतदाताले रिपब्लिकनको तुलनामा डेमोक्रेटहरूलाई ९ प्रतिशत अङ्कले बढी पत्याएका छन्।

नोभेम्बर ३ मा हुने यस चुनावमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ। सिनेटमा आफ्नो बहुमत स्थापित गर्न डेमोक्रेटहरूले रिपब्लिकनको कब्जामा रहेका कम्तीमा चार सिट खोस्नुपर्ने हुन्छ। सर्वेक्षणले डेमोक्रेटहरूको पक्षमा बलियो सम्भावना देखाए पनि अन्तिम नतिजा भने मतदाताको निर्णयमै निर्भर रहनेछ।

कात्तिक १६, २०८३ सोमबार १४:१४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।