एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

एजेन्सी : पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकहरूमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।

अमेरिकी वित्तीय संस्था ‘ब्ल्याक रक’ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कच्चा तेलको आपूर्ति अवरोध प्रशोधन र समुद्री ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्यमा व्यापक वृद्धि भएको हो।

खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र समुद्री मार्ग लक्षित आक्रमणले आपूर्ति प्रणालीमा गम्भीर दबाब सिर्जना गरेको छ।

गत अक्टोबर २३ मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ अमेरिकी डलरसम्म पुगेको थियो, जुन हाल सामान्य घटेर ११० डलर आसपासमा कारोबार भइरहेको छ।

कच्चा तेलभन्दा प्रशोधित इन्धन र ट्यांकर ढुवानीमा समस्या बढेकाले यस वर्ष प्रशोधन कम्पनीहरूको सेयर १६० प्रतिशत र ट्यांकर सञ्चालक कम्पनीको सेयर १२० प्रतिशतले उकालो लागेको छ।

प्रतिवेदनअनुसार यो ऊर्जा संकटबाट युरोप सबैभन्दा बढी जोखिममा परेको छ। प्राकृतिक ग्यासको भण्डारण न्यून विन्दु (७५ प्रतिशत) मा झरेको र ऊर्जा मूल्य १७० प्रतिशतले बढेकाले युरोपको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.५ प्रतिशतले घट्ने अनुमान छ।

ऊर्जा निर्यातकर्ता भएकाले अमेरिका सुरक्षित रहँदा एसियाले भने प्रविधिजन्य वस्तुको बलियो निर्यातका कारण बढ्दो इन्धन लागतको धक्का केही हदसम्म धान्न सकेको छ।

मध्यपूर्वको द्वन्द्व समाप्त भए पनि विश्वभर ऊर्जा सुरक्षाका लागि वैकल्पिक मार्ग र पूर्वाधारमा ठूलो लगानी गर्ने क्रम दीर्घकालसम्म जारी रहने र यसले दीर्घकालीन सरकारी ऋणपत्रको ब्याजदरमा समेत दबाब सिर्जना गर्ने ब्ल्याक रकको निष्कर्ष छ।

कात्तिक १६, २०८३ सोमबार १२:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।