त्रिवि मैदानमा डेभिड वार्नर, गोर्खाजका खेलाडीसँग गरे वार्मअप

त्रिवि मैदानमा डेभिड वार्नर, गोर्खाजका खेलाडीसँग गरे वार्मअप

काठमाडौं : अस्ट्रेलियाका विश्वविख्यात ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेलगत्तै मैदानमा अभ्यासमा जुटेका छन्।

आइतबार साँझ मात्र काठमाडौं अवतरण गरेका वार्नर सोमबार बिहानै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका खेलाडीहरूसँगै वार्मअपमा देखिएका हुन्।

मैदानमा बैजनी रंगको काठमाडौं गोर्खाजको जर्सीमा सजिएका ३९ वर्षीय वार्नरले टोलीका कप्तान करण केसीलगायतका खेलाडीहरूसँग स्ट्रेचिङ, रनिङ तथा प्रारम्भिक अभ्यास गरेका छन्।

लामो हवाई यात्रापछि हिजो राति मात्र आइपुगेका भए पनि उनी मैदानमा निकै फूर्तिलो र उत्साही मुद्रामा प्रस्तुत भएका थिए।

एनपीएलअन्तर्गत आज दिउँसो १२:३० बजे काठमाडौं गोर्खाजले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ।

आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंका लागि वार्नरको उपस्थितिले टोलीको मनोबल उच्च बनाएको छ। उनी आजैको खेलमा प्लेइङ-११ मा समेटिँदै एनपीएलमा डेब्यु गर्ने बलियो सम्भावना रहेको छ।

वार्नर एनपीएलको इतिहासमै अनुबन्धित भएका अहिलेसम्मकै सर्वाधिक सफल र चर्चित अन्तर्राष्ट्रिय खेलाडी हुन्।

अस्ट्रेलियालाई सन् २०१५ र २०२३ को एकदिवसीय तथा २०२१ को टी-२० विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका वार्नर इन्डियन प्रिमियर लिग (आईपीएल) का समेत सफल कप्तान तथा ब्याटर हुन्।

विश्व क्रिकेटकै सुपरस्टार खेलाडी काठमाडौंको जर्सीमा घरेलु मैदानमा अभ्यास गरिरहेको देखेपछि त्रिवि मैदानमा उपस्थित समर्थक तथा नेपाली क्रिकेटप्रेमीमाझ ठूलो उत्साह छाएको छ।

कात्तिक १६, २०८३ सोमबार ११:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।