नेतान्याहूसँगको फोनवार्तापछि ट्रम्पले भने- "इरानमा अझै एक–दुई स्थानलाई ध्वस्त पार्न बाँकी बाँकी छ"
एजेन्सी : अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमणको तयारी अघि बढाउँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबिच शनिबार बिहान टेलिफोन वार्ता भएको छ। 'द वाल स्ट्रिट जर्नल' ले यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै दुई नेताबिच कुराकानी भएको जनाएको हो।
त्यसै दिन फ्लोरिडाको पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका थप एक वा दुईवटा महत्त्वपूर्ण स्थानलाई ध्वस्त पार्न बाँकी रहेको बताएका थिए।
इरानमाथिको थप कारबाहीबारे बोल्दै ट्रम्पले भने, "हामीले अझै पनि, एक वा दुई स्थानहरूलाई ध्वस्त पार्नुपर्नेछ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ। तपाईं सम्भवतः पिकएक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ, र हामीले त्यसलाई ध्वस्त पार्नुपर्नेछ।"
पिकएक्स माउन्टेनलाई पश्चिमी गुप्तचर निकायहरूले इरानले आणविक सामग्री भण्डारण गर्न प्रयोग गरेको हुनसक्ने सम्भावित स्थलको रूपमा आकलन गर्दै आएका छन्। जारी युद्धका क्रममा अमेरिकाले अहिलेसम्म उक्त स्थलमा आक्रमण गरेको छैन।
इरानसँगको वार्ताबारे ट्रम्पले भने, "वार्ता ठीक ठाउँमा अघि बढिरहेको छ, तर यो इस्लामिक गणतन्त्र (इरान) धेरै भरपर्दो छैन।"
युद्ध टार्न कतारमा इरानको कूटनीतिक पहल
अमेरिकी मध्यावधि चुनावपछि हुनसक्ने सम्भावित नयाँ द्वन्द्व रोक्न इरानी वार्ताकारहरूले शनिबार कतारको राजधानी दोहामा कतारी मध्यस्थकर्ताहरूसँग छलफल गरेका छन्।
वार्ताबारे जानकारी राख्ने एक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले इरान र कतारका प्रतिनिधिबिच युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको जनाएको छ। ती स्रोतका अनुसार शुक्रबार तेहरानमा इरानी र कतारी प्रतिनिधिबिच १२ घण्टाभन्दा लामो छलफल भएको थियो। त्यसपछि शनिबार दोहामा वार्ता अघि बढाइएको हो। वार्ता अमेरिकी अधिकारीहरूसँग नियमित सम्पर्क कायम राख्दै समन्वय गरिएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
यसै साता अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्न सक्ने आशंका क्षेत्रीय देशहरूले गर्दै आएका छन्। इरानले पनि आफूविरुद्ध कुनै नयाँ आक्रमण भए छिमेकी देशहरूमा रहेका अमेरिकी तथा इजरायली लक्ष्यमा प्रत्याक्रमण गर्ने चेतावनी दिँदै आएको छ।
यसैबिच, अमेरिकाले आफ्ना गल्फ क्षेत्रका साझेदारहरूलाई नोभेम्बर ४ बाटै इरानमाथि पुनः आक्रमण हुनसक्ने चेतावनी दिएको छ। समाचार संस्था एमएसनाउसँग कुरा गर्दै तीन वरिष्ठ गल्फ अरब अधिकारीहरूले बताए अनुसार अमेरिकाले संक्षिप्त तर तीव्र किसिमको आक्रमण गर्नसक्ने सम्भावना छ।
इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले शनिबार एक वक्तव्य जारी गर्दै सशस्त्र बललाई जुनसुकै आक्रमणको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।
इरानले आणविक हतियारसम्बन्धी प्रतिबन्ध हटाउनेबारे छलफल गर्दै
अर्कोतर्फ, इरानका शक्तिशाली सुरक्षा प्रमुख मोहसिन रेजाईले पुनः युद्ध सुरु भएमा इरानले आणविक हतियारमाथि लगाउँदै आएको दीर्घकालीन प्रतिबन्ध हटाउनेबारे बहस गरिरहेको बताएका छन्। यद्यपि यसबारे कुनै औपचारिक निर्णय भइनसकेको उनको भनाइ छ।
इरानको आणविक कार्यक्रमबारे बोल्दै रेजाईले भने, "वाशिङ्टनले इरानका मागहरू स्वीकार नगरेसम्म इरानको आणविक कार्यक्रमका विषयमा कुनै पनि वार्ता हुनसक्दैन", उनले थपे, "इरानका सर्तहरू पूरा नभएसम्म हर्मुज स्ट्रेट बन्द नै रहनेछ।"
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता पुनर्जीवित गर्ने प्रयासस्वरूप इरानी अधिकारीहरूलाई पठाएको पत्रबारे टिप्पणी गर्दै रेजाईले भने, "मैले पत्र पढेको छु। मैले अझै त्यसको जवाफ दिएको छैन। तिनीहरूको शैली/बोली पूर्ण रूपमा परिवर्तन भएको छ।"
शैलीमा आएको परिवर्तनलाई सकारात्मक सङ्केत मान्दै उनले थपे, "यो एउटा राम्रो सङ्केत हो र यसले इरानले आफ्नो जितलाई सुदृढ बनाएको देखाउँछ।"
अघिल्लो फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेका थिए। त्यसपछि जुन महिनामा दुई देशबिच स्थायी समाधानका लागि समझदारी पत्रमा सहमति भए पनि एक-अर्कालाई उल्लंघनको आरोप लगाउँदै उक्त समझदारी पत्र छिट्टै रद्द भएको थियो।
कात्तिक १५, २०८३ आइतबार १५:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।