विद्युत् सर्ट भई बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई जनालाई लखनउ रिफर
काठमाडौं : बाँकेको जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा विद्युत् सर्ट भएर आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये मध्यम अवस्थाका दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
उद्योग परिसरभित्र रहेका प्रतिभट्टी २५ टन क्षमताका तीन वटा फलाम पगाल्ने भट्टीमा आइतबार बिहान करिब पौने ६ बजेतिर विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको थियो। आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना गरी आठ जना कामदार घाइते भएका हुन्।
घाइते हुनेहरूमा बाँकेको जानकी गाउँपालिका-५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन्। यस्तै भारतको बहराइचस्थित कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि घाइते भएका छन्।
आगलागी भएलगत्तै सबै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि मध्यम अवस्था रहेका शिवप्रसाद र रामदिनलाई बिहान ८:४५ बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। बाँकी ६ जनाको अवस्था भने सामान्य रहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक गरी तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। आगलागीबाट भएको भौतिक क्षतिको यकिन विवरण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १५, २०८३ आइतबार ११:५७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।