स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्‍यो सात उपसमिति

स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्‍यो सात उपसमिति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्नुका साथै महानगर र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवारी आवेदन खुला गरेको छ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री एवं समितिका संयोजक विपीनकुमार आचार्यको सभापतित्वमा बसेको 'स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति'को बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलले आइतबार जारी गरेको विज्ञप्तिअनुसार देशैभरका महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक योग्य व्यक्तिहरूका लागि 'क्यान्डिडेट क्लब'मार्फत आवेदन आह्वान गरिएको छ।

उम्मेदवार छनोट रूपरेखाको बहुआयामिक पक्षलाई व्यवस्थित ढंगले कार्यान्वयनमा लैजान बैठकले समिति सदस्यहरूकै नेतृत्वमा उपसमितिहरूलाई गठन गरिएको छ। जसअनुसार क्यान्डिडेट क्लबको संयोजकत्वमा कवीन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको जिम्मेवारी डा. तोसिमा कार्कीलाई तोकिएको छ भने क्षमता विकास समन्वयको जिम्मा टासी ल्होजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी सुम्पेको खरेलले जानकारी दिए।

कात्तिक १५, २०८३ आइतबार ०९:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।