शे–फोक्सुण्डो पुगेका ६ भारतीय पर्यटक हिमपातमा फसेपछि हेलिकप्टरबाट उद्धार थालियो

शे–फोक्सुण्डो पुगेका ६ भारतीय पर्यटक हिमपातमा फसेपछि हेलिकप्टरबाट उद्धार थालियो

सुर्खेत : डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि पुगेका ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण बीच बाटोमै फसेपछि उनीहरूको हेलिकप्टरमार्फत उद्धार थालिएको छ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगड क्षेत्रमा केही दिनदेखि परेको भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार शनिबार पर्यटकहरू फसेको खबर पाएलगत्तै आइतबारदेखि नै हेलिकप्टर परिचालन गरी उद्धार कार्य अघि बढाइएको हो।

उद्धार भइरहेका भारतीय पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे छन्। उनीहरूमा दुई महिला र चार पुरुष छन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ।

मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।

कात्तिक १५, २०८३ आइतबार १०:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।