हिमपातले फोक्सुन्डो हिँडेका ६ भारतीय पर्यटक सम्पर्कविहीन
सुर्खेत : डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य फोक्सुन्डो ताल भ्रमणमा गएका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण शे-फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रबाट सम्पर्कविहीन भएका छन्।
शे-फोक्सुन्डो गाउँपालिका-८ स्थित नुमला पास र वागला पास हुँदै रिग्मोस्थित फोक्सुन्डो तालतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएको जानकारी स्थानीयवासीले प्रहरीलाई गराएका हुन्।
शनिबारदेखि निरन्तर भइरहेको हिमपात र प्रतिकूल मौसमका कारण पदमार्गहरू अवरुद्ध हुँदा उनीहरूको अवस्था पत्ता लगाउन तथा खोजी एवम् उद्धार टोली परिचालन गर्न कठिन भएको छ।
प्रहरीका अनुसार सम्पर्कविहीन भएका पर्यटकहरू हिमपातका कारण बाटोमै रोकिएका हुन् वा कुनै सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन् भन्नेबारे हालसम्म यकिन हुन सकेको छैन।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार शनिबारदेखि शे-फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने तल्लो डोल्पा क्षेत्रमा वर्षा जारी छ। उच्च हिमाली पासहरूमा हिउँ जमेका कारण स्थलगत आवागमन प्रभावित बनेको छ।
यसअघि नै मौसम प्रतिकूल हुने पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालयले कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पाका उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न र पदयात्रीलाई सुरक्षित स्थानमै रहन सूचना जारी गरेको थियो।
प्रशासनको तथ्याङ्कअनुसार त्यस अवधिमा माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा १४९ जना नेपाली, सार्क मुलुकका ४४ जना र अन्य ५१ विदेशी गरी कुल २४४ जना पर्यटक पुगेका थिए।
प्रमुख जिल्ला अधिकारी जुनु हमालले उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकहरूको अवस्थाबारे नियमित जानकारी सङ्कलन भइरहेको र आवश्यकता अनुसार उद्धार तथा राहतका लागि संयन्त्र तयारी अवस्थामा राखिएको बताइन्। यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्थानीय तहहरूसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।
समुद्री सतहबाट करिब ३ हजार ६ सय मिटर उचाइमा रहेको फोक्सुन्डो ताल पदयात्राका लागि प्रमुख गन्तव्य मानिए पनि उच्च हिमाली क्षेत्रमा अचानक हुने मौसम परिवर्तन र हिमपातले गर्दा पदयात्रा जोखिमपूर्ण बन्ने गरेको छ। हाल सम्पर्कविहीन पर्यटकहरूको विस्तृत विवरण सङ्कलन गर्दै खोजी प्रक्रियालाई तीव्रता दिने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
कात्तिक १५, २०८३ आइतबार ०७:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।