प्रेस स्वतन्त्रता र न्यायालय शुद्धीकरणको पक्षमा उभिँदै रास्वपाले गर्यो चार निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले प्रेस स्वतन्त्रताको रक्षा, न्यायालयको शुद्धीकरण, आन्तरिक संगठन सुदृढीकरण र महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमणसम्बन्धी चार निर्णय गरेको छ।
सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएको गतिविधिप्रति असन्तुष्टि जनाउँदै बैठकले यस्तो गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा रास्वपाले कहिल्यै सम्झौता नगर्ने उल्लेख गरेका छन्।
शुक्रबार सञ्चारगृहमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिहरू संविधान र दलको मूल आदर्श विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै न्यायाधीशहरू नै गम्भीर विचलन र अनुचित साँठगाँठका घटनामा मुछिएपछि न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा भएको रास्वपाको भनाई छ।
न्यायालयभित्रको विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसद्बाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन बैठकले पार्टीको संसदीय दललाई निर्देशन दिएको छ। न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा आफूले उठाउँदै आएको एजेन्डालाई उक्त घटनाले थप पुष्टि गरेको रास्वपाको दाबी छ।
मधेश प्रदेश संगठन अडिट प्रतिवेदन कार्यान्वयन
मधेश प्रदेशमा पार्टी संगठनलाई थप चुस्त, सुदृढ र गतिशील बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेश प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययनको जिम्मेवारी सचिवालयलाई दिइएको छ। प्रतिवेदनका सिफारिसहरूलाई औचित्य र आवश्यकताका आधारमा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने निर्णय बैठकले गरेको छ।
त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणा स्वीकार गर्दै पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। उक्त प्रतिनिधिमण्डल कात्तिकको अन्तिम साता चीन प्रस्थान गर्ने खरेलले जानकारी दिए।
कात्तिक १४, २०८३ शनिबार २१:१३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।