सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध हुँदा आवागमनमा सास्ती
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक एक हप्तादेखि अवरुद्ध गरेपछि स्थानीयवासीले आपत्ति जनाएका छन्।
सुन्दरीजल हुँदै गोसाईंकुण्ड, हेलम्बुजस्ता गन्तव्यहरूमा सहजै जान सकिने मोटर बाटो रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले जानकारी दिए।
सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अवरोध गरेको छ। दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो।
आयोजनाले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्वय नगरीकनै बलजफती बाटो बन्द गरेको उनले बताए। जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ।
मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दुःखका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटर बाटो परम्परागत रूपमा, लास बोक्ने, क्रियापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो।
मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ। मेलम्ची आयोजना सुन्दरीजल साइटका इन्जिनियर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउँछन्।
कालोपत्रे गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उनले सुनाए।
कात्तिक १४, २०८३ शनिबार २०:५१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।