पत्रकार धरपकड प्रकरणमा रविले भने : ‘संविधानभन्दा माथि कोही माइकलाल छैन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहभित्र प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको घटनामा संलग्न जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका छन्।
पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेकाले प्रेसमाथि हस्तक्षेप गर्नेले जिम्मेवारी लिनुपर्ने र सजायको भागीदार हुनुपर्ने बताएका हुन्।
"हामीले बैठक बसेर स्पष्ट रूपमा भनेका छौं र म प्रस्ट पार्छु- संविधानभन्दा माथि र डेमोक्रेसी (लोकतन्त्र) भन्दा ठूलो केही छैन, कोही छैन," लामिछानेले भने, "रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छन्, यसमा कसैले कहिल्यै दुविधा पाल्नु पर्दैन।"
संविधान र लोकतान्त्रिक मूल्य-मान्यतामा आँच पुर्याउने क्रियाकलाप जोसुकैबाट भए पनि अक्षम्य हुने उनको भनाइ थियो। "यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले गरेको भए पनि त्यो सजायको भागीदार हुनुपर्नेछ, त्यसले जिम्मेवारी लिनुपर्दछ भन्ने कुरा हामीले स्पष्ट रूपमा भनेका छौं," लामिछानेले थपे, "यस सम्बन्धमा पार्टीले पनि निर्णय गरिसकेको छ र त्यो निर्णय छिट्टै सार्वजनिक हुनेछ।"
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानप्रदत्त हकको हनन गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले भने, "संविधानप्रदत्त अधिकारलाई नै हवाला दिने किसिमको क्रियाकलाप गर्ने जोसुकै होस्- म होउँ वा अर्को होस्, फेरि पनि भन्न चाहन्छु, संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो यो देशमा कोही 'माइकलाल' छैन।"
कात्तिक १४, २०८३ शनिबार १९:२१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।