मतदाता नामावली अब व्यक्तिगत घटना दर्ता प्रणालीमार्फत अद्यावधिक हुने

मतदाता नामावली अब व्यक्तिगत घटना दर्ता प्रणालीमार्फत अद्यावधिक हुने

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ।

निर्वाचन आयोग र विभागबिच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ।

मतदाता नामावली अद्यावधिक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबिच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ।

साथै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय समाधान गर्न दुवैपक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ।

यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

कात्तिक १४, २०८३ शनिबार १६:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।