बाराको फेटामा अस्पताल उद्घाटनको किचलो : दुई पक्षीय झडपपछि प्रहरीले गोली चलाउँदा १४ वर्षीय बालक घाइते

बाराको फेटामा अस्पताल उद्घाटनको किचलो : दुई पक्षीय झडपपछि प्रहरीले गोली चलाउँदा १४ वर्षीय बालक घाइते

काठमाडौं : बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटनका क्रममा विवाद चर्किदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। शनिबार बिहान करिब साढे १० बजे पालिका समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्ने क्रममा स्थानीय १४ वर्षीय आदित्य पासवान गोली लागेर घाइते भएका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा आकस्मिक शल्यक्रिया गरेर पासवानको शरीरबाट गोली निकालिएको छ। शल्यक्रिया सफल भएको र उनको अवस्था स्थिर रहेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जनाकारी दिए। झडपका क्रममा केही प्रहरीसमेत घाइते भएको उनले बताए।

किन भयो विवाद ?
सङ्घीय अनुदानमा फेटा गाउँपालिकाले १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको थियो। तर, अस्पताल भवनमा आवश्यक मेडिकल इक्युपमेन्ट (उपकरण) र बेडहरू जडान भइसकेका थिएनन्। तर, गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले उक्त अस्पताल भवनको उद्घाटन गर्ने तयारी अघि बढाएका थिए।

भवन उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा पनि वीरगन्ज पुगेकी थिइन्। यता अस्पताल पूर्ण रूपमा सञ्चालनयोग्य नभई भवन मात्र उद्घाटन गर्न नपाइने भनेर पूर्वअध्यक्ष अमिरी कलवार नेतृत्वको विपक्षी समूहले विरोध जनाइरहेको थियो। 

वर्तमान अध्यक्ष रुस्तमले जसरी पनि भवनको उद्घाटन भनेर अघि बढेपछि विपक्षी पक्ष पूर्वअध्यक्ष अमिरी नेतृत्वको समूहले उद्घाटन हुन नदिने अडानमा राखिरहेको थियो। शनिबार बिहान भवन उद्घाटनको कार्यक्रम राखिएपछि अमिरी नेतृत्वको समूह विरोध गर्यो। सोही क्रममा दुवै समूहबिच झडप भएर स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हवाई फायर गरेको भट्टराईले जनाकारी दिए।

पहिल्यै सतहमा थियो विवाद
जिल्ला प्रशासन कार्यालयकाअनुसार भवन उद्घाटनको विषयलाई लिएर दुई-तीन दिनअघि नै विवाद सतहमा आइसकेको थियो। प्रशासनले दुवै पक्षलाई बोलाएर सम्झाई-बुझाई गरेर समझदारीको लागि प्रयास पनि गरेको थियो। तर, अध्यक्ष रुस्तम अन्सारी भवन उद्घाटनको कार्यक्रमलाई रोक्न नमान्दा झडपको स्थिति सिर्जना भयो। 

"दुई वटै पक्षलाई पालैपालो बोलाएर हामीले सम्झाई-बुझाई गर्यौं। पालिका अध्यक्षलाई हामीले अब विरोध आइसक्या छ। अस्पताल पूर्ण नहुँदै भवन मात्र उद्घाटन नगर्नुस् भनेका थियौं। तर उहाँ मान्नुभएन," भट्टराईले उकेरासँग भने, "हामीले अर्को पक्षलाई पनि अर्को पक्षलाई पनि विरोधका नाममा भिड जम्मा गरेर सुरक्षामा खलल नपुर्याउन सम्झाएका थियौं। तर उहाँहरू मान्नु भएन।"

कस्तो छ अहिलेको अवस्था ?
घटनापछि अहिले अवस्था सामान्यतातर्फ उन्मुख रहेको उनले बताए। घटनास्थलमा केही मानिसहरू अझै जम्मा भएर बसे पनि उनीहरू फर्किने क्रममा रहेको भट्टराईले जानकारी दिए। प्रशासनले परिस्थितिको विश्लेषण गरिरहेको र अवस्था बिग्रिए कर्फ्यु आदेश जारी गर्नेसम्मको तयारी रहेको उनले बताए। अहिलेको सुरक्षा विश्लेषणअनुसार कर्फ्यु लगाउनुपर्ने स्थिति नरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए। 

कात्तिक १४, २०८३ शनिबार १६:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।