पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं : सञ्चारगृहमै प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ र धरपकड गरेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघर मण्डला र धनुषाको जनकपुरधाममा पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन्। वर्षा र झरीका बीच पत्रकारहरू सडकमा उत्रिएर प्रेस स्वतन्त्रताको रक्षा र हस्तक्षेपकारी सरकारी रवैया अन्त्यको माग गर्दै प्रदर्शन गरेका हुन्।

शुक्रबार साँझ सादा पोशाकमा कार्यालयमा प्रवेश गरेका प्रहरीले नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो। केही समयको केरकारपछि उनीहरूलाई रिहाइ गरिएको थियो।

साथै ‘नयाँ पत्रिका’ र ‘दियोपोष्ट’को कार्यालयमा पनि सादा पोसाकमा प्रवेश गरेका प्रहरीले धरपकडको प्रयास गरेको थियो। प्रहरीको उक्त रवैयाको चौतर्फी विरोध र दबाब बढेपछि प्रहरीले पक्राउ गरेका पत्रकारहरूलाई रिहा गरेको थियो। सोही घटनालाई लिएर आन्दोलित बनेका बनेका पत्रकारहरूले शनिबार देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पत्रकारहरूले ‘बिचौलिया-प्रधानमन्त्री न्यायालय कनेक्सन छानबिन गर’, ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’ र ‘संसद्, इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर’ लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले समाचार कक्षमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिए।

यता शुक्रबारको प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि जनकपुरधामस्थित शाखा कार्यालय अगाडि मौन प्रदर्शन गरेको छ। धनुषाका पत्रकारहरूले ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी रवैया बन्द गर’, ‘समाचार कक्षमा राज्य आतंक र पत्रकारहरूमाथिको धरपकड बन्द गर’, ‘मिडिया धरपकड बन्द गर’, ‘पत्रकारलाई थुनेर के पाउँछौ सरकार? सत्यको आवाज झन् हुन्छ हजार’ र ‘राज्य आतंक मुर्दावाद’ लेखिएका प्लेकार्डसहित विरोध जनाएका छन्।

कात्तिक १४, २०८३ शनिबार १५:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।