दिउँसोदेखि वर्षा कमजोर हुँदै जाने, भोलि बिहानैदेखि मौसम खुल्ने
काठमाडौं : नेपालमा सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली शनिबार मध्याह्नदेखि क्रमशः कमजोर बन्दै जाने देखिएको छ।
जलवायु तथा मौसम विज्ञ उज्ज्वल उपाध्यायका अनुसार शनिबार बिहान ११ बजेको मौसमी विश्लेषण हेर्दा नेपालमा रहेको र यतातर्फ आउने वर्षा प्रणाली घट्दै गएको पाइएको हो।
उपाध्यायका अनुसार शनिबार मध्याह्नदेखि वर्षाको तीव्रता घट्दै जाने र साँझसम्ममा धेरैजसो स्थानमा पानी पर्न रोकिनेछ।
काठमाडौं उपत्यकाको हकमा पनि साँझसम्म वर्षा रोकिने र रातिदेखि आकाशबाट बादल हटेर आइतबार बिहानैदेखि उज्यालो घाम लाग्ने उनले बताएका छन्। हाल पूर्वी तथा पश्चिम नेपालको तराई र चुरे क्षेत्रका धेरै भूभागमा मौसम खुलिसकेको छ।
उपल्लो पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम कायमै
तराई तथा मध्यपहाडी क्षेत्रमा मौसममा सुधार आए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने आज राति र भोलि बिहानसम्म वर्षा तथा हिमपात जारी रहने देखिएको छ।
खासगरी कञ्चनजङ्घा, मकालु, सगरमाथा, चो-ओयु, गौरीशङ्कर, लाङ्टाङ, गणेश, मनास्लु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमशृङ्खलाको दक्षिणी मोहोडातर्फका उपत्यका र खोँचहरूमा भारी हिमपातको सम्भावना कायमै छ।
त्यसैले ती क्षेत्रमा रहेका पदयात्री तथा स्थानीय बासिन्दालाई आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
यात्रा र सम्भावित जोखिम
विज्ञ उपाध्यायका अनुसार गण्डकी तथा कोशी जलाधारसहित साना नदीहरूमा बाढीको जोखिम अझै कायमै रहेकाले पहाडी सडकमा गरिने लामो यात्रा आज मध्यरातसम्मका लागि स्थगित गर्न उपयुक्त हुनेछ।
उच्च हिमाली भूभागबाहेक अन्य क्षेत्र र काठमाडौं उपत्यकामा भने आइतबारदेखि नियमित दैनिकीमा फर्कन सकिनेछ।
यद्यपि, आइतबार बिहान केही स्थानमा बाक्लो कुहिरो र हुस्सुका कारण सडक तथा हवाई यातायातमा केही समय अवरोध हुन सक्ने र मध्याह्नअघि नै त्यो हटेर जाने उनको आकलन छ।
कात्तिक १४, २०८३ शनिबार ११:५२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।