नेपाल प्रेसका पत्रकार सुवेदी पक्राउ, पत्रकार मैनाली खोज्दै 'प्रहरी' पुग्यो नयाँ पत्रिका कार्यालय
काठमाडौं : प्रहरी हुँ भन्दै समाचार कक्षमा पुगेका एक समूहले नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। नेपाल प्रेसका अनुसार समाचारका विषयमा छलफल गर्ने भन्दै सुवेदीलाई प्रहरी भ्यानमा आएका तीन जनाले नियन्त्रणमा लिएर गएका हुन्। नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब भन्ने समाचार नेपाल प्रेसमा प्रकाशित भएको थियो।
"नेपाल प्रेसमा सँगै काम गरिरहेका दाजुलाई समाचार कक्षभित्र नै छिरेर सिभिलमा आएका ३ जनाले प्रहरी हुँ भन्दै लगे !" नेपालप्रेसकर्मी राजाराम न्यौपानेले फेसबुकमा लेखेका छन्।
बिहीबार नेपाल प्रहरीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा आइजिपीलाई राजीनामाको दबाब आएको भन्ने समाचार गलत रहेको दाबीसहित यसलाई संगठन कमजोर बनाएर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएर केही सीमित व्यक्तिको चालबाजीलाई प्रहरीले कानुन बमोजिम अनुसन्धान र कार्वाही गर्ने चेतावनी उल्लेख थियो।
शुक्रवारै प्रहरी हुँ भन्दै एक हुल पुतलीसडकमा रहेको नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेको छ। नयाँ पत्रिकाकर्मी यम बमले सार्वजनिक गरेको तस्बिरमा पत्रिकाको रिसेप्सनमा अपरिचित व्यक्तिहरू देखिन्छन्। नयाँ पत्रिकाको बिहीबारको अंकमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको इनम सापकोटासँग भएको संवाद सार्वजनिक गरेको थियो। उनीहरूले सो समाचार लेख्नेमध्ये पत्रकार नवराज मैनाली खोजिरहेको नयाँ पत्रिकाले जनाएको छ।
कात्तिक १३, २०८३ शुक्रबार १७:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।