हेटौँडा-पथलैया सडकमा ट्यांकर, हाइस र मोटरसाइकल एकापसमा ठोक्किँदा १० जना घाइते
काठमाडौं : बाराको जितपुर सिमरास्थित हेटौँडा-पथलैया सडकखण्डमा शुक्रबार दिउँसो ट्यांकर, हाइस र मोटरसाइकल एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्। नेपाल आयल निगमको डिपो नजिकै भएको उक्त दुर्घटनामा दुई भारतीय नागरिकसहित तीन वटै सवारीसाधनका चालक र यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे इन्धन डिपोबाट डिजेल बोकेर जनकपुरतर्फ जाँदै गरेको ना ४ ख २३४९ नम्बरको ट्यांकरसँग वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ग २ ख १९९३ नम्बरको हाइस एकापसमा ठोक्किएका थिए।
ट्यांकरसँग हाइस ठोक्किए लगत्तै धरानबाट हेटौँडातर्फ आइरहेको अनटेस्ट मोटरसाइकल समेत अनियन्त्रित भई हाइसको पछाडिको भागमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा ट्यांकर चालक जितपुर सिमरा- १६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, हाइस चालक पोखरा महानगरपालिका-५ का ३८ वर्षीय आशिष मल्ल र मोटरसाइकल चालक धरान उपमहानगरपालिका- १६ का २४ वर्षीय सरोज गुभाजु घाइते भएका छन्।
यस्तै हाइसमा सवार वीरगन्ज महानगरपालिका- २ की ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन, जितपुर सिमराका २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा सराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री तथा बाराको प्रसौनीका २४ वर्षीय कुनिल पण्डित कुम्हार घाइते भएका छन्।
दुर्घटनामा भारतको बिहारका ७० वर्षीय नवल किशोर साह र पश्चिम बंगालकी २६ वर्षीया साबनी दास समेत घाइते भएका छन्। दुर्घटनापछि अवरुद्ध बनेको सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। दुर्घटनामा संलग्न तीन वटै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।
कात्तिक १३, २०८३ शुक्रबार १६:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।