सुडानको न्याला बजारमा ड्रोन आक्रमण : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सुडानको न्याला बजारमा ड्रोन आक्रमण : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी : सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो।

न्यालाका एक बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो। अर्का स्थानीय बासिन्दाले उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकूहरू आउने गरेको बताए।

न्याला अस्पतालका चिकित्सकले घटनामा २१ जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइतेलाई उपचारका लागि ल्याइएको पुष्टि गरेका छन्। यद्यपि, मृतक र घाइतेमध्ये कति जना सर्वसाधारण र कति जना लडाकू थिए भन्ने कुरा अझै खुल्न सकेको छैन।

सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ। सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ। आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ।

सुडानमा जारी युद्धमा पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बनेको छ। दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा एकैपटक दर्जनौँ सर्वसाधारणको ज्यान जाने गरेको छ। संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन्।

युद्ध सुरु भएयता दुई लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेको अनुमान छ। यस गृहयुद्धका कारण सुडान हाल विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कट, भोकमरी र विस्थापनको सामना गरिरहेको छ।

कात्तिक १०, २०८३ मंगलबार १८:०७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।